Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

सरकारले प्रहरीको आधुनिकीकरण र स्तरवृद्धिलाई प्राथमिकतामा राखेको छ : गृहमन्त्री

गृहमन्त्री बालकृष्ण खाणले प्रहरी प्रहरीको क्षमता अभिवृद्धि, अपराध नियन्त्रण एवं अनुसन्धानमा प्रविधिको प्रयोग, नविन भूमिका एवम् दायित्वको लागि सरकार पूर्ण सकारात्मक रहेको बताएका छन् । 

 

आइतबार प्रहरी प्रधान कार्यालयको भ्रमणको क्रममा उनले प्रहरी कार्यालयहरुको स्थापना, स्तरवृद्धि, आधुनिकिकरणको पनि प्रतिबद्धता व्यक्त गरे ।
निरीक्षणका क्रममा गृहमन्त्री खाणले प्रहरी प्रधान कार्यालयस्थित डिजिटल फरेन्सिक ल्याव, पोलीग्राफ सेक्सन, डाटा सेन्टर र केन्द्रीय प्रहरी हेल्थ डेक्सको निरीक्षण गर्नुका साथै त्यस सम्बन्धी गतिविधिबारे जानकारी समेत लिएका थिए । 

 

त्यसपछि उपस्थित प्रहरी अधिकृत तथा जवानहरु एवम् भिडियो कन्फेरेन्सबाट सहभागी ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरु, संघिय प्रहरी ईकाइ कार्यालयका प्रमुखहरू तथा सबै जिल्लाका प्रहरी प्रमुखहरुलाई निर्देशन सम्बोधन गरेका थिए । 

 

 

उनले प्रहरी र सरकार एउटै सिक्काका दुईवटा पाटा भएको चर्चा गर्दै सरकार र प्रहरीको सम्बन्धलाई अझ बढी सुदृढ, सबल र प्रगाढ बनाई जनताको संविधानको रक्षा र पालना तथा नागरिकको जीवन रक्षाको लागि सबै गम्भीर हुनुपर्ने बताए । 

 

आत्महत्या, महिला तथा बालबालिका विरुद्ध हुने हिंसा प्रति राज्य अत्यन्तै संवेदनशील रहेको बताउँदै त्यस्ता हिंसा न्यूनीकरणको लागि गम्भीरतापूर्वक लिन समेत उनले उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन दिए । 

 

प्रहरी राज्य र समाजको अभिन्न अंग रहेको चर्चा गर्दै गृहमन्त्री खाणले प्रहरीको साथ साथै नागरिकको भूमिकलाई समेत सहजता एवम् सफलताका साथ निर्वाह गर्न प्रहरी कर्मचारीहरुले सक्षमता प्राप्त गर्नेमा विश्वास व्यक्त गरे । 

 

 

प्रहरीको कार्यालय स्थापनाको लागि जग्गा, निर्माण सामग्री उपलब्ध गराउने एवम् आर्थिक सहयोग गरी प्रहरीको हौसला बढाउन सहयोग गर्ने दाता तथा नागरिकप्रति उनले सम्मान व्यक्त गरे । 

 

सामाजिक दायित्वको रुपमा आउने बहुआयमिक समस्याहरुलाई सम्बोधन गर्न नेपाल प्रहरी सदैव पहिलो पंक्तिमा रहेर आफ्नो कर्तव्य निर्वाह गरेको चर्चा गर्दै गृहमन्त्री खाणले कोभिड–१९ संक्रमण नियन्त्रण एवम् रोकथामको लागि नेपाल प्रहरीले संचालन गरेको अभियान सराहनीय रहेको उनको भनाइ थियो । 

 

सो अवसरमा गृहसचिव टेकनारायण पाण्डेले विभिन्न अप्ठ्यारा परिस्थितिको सामना गर्दै आफ्नो कर्तव्य पालना मार्फत नागरिक रक्षा, सुखी राष्ट्र निर्माण एवम् नागरिकको जीवन रक्षाको लागि प्रहरी सदैव दृढ संकल्पित रहेको उल्लेख गरे । 

 

 

प्रहरी संगठनलाई अझ व्यवसायिक, पेशागत, स्रोत साधनयुक्त, प्रविधियुक्त बनाउनुपर्ने चर्चा गर्दै प्रहरी कर्मचारीको मनोवल विकासका लागि प्रभावकारी तवरले काम गर्नुपर्ने उनले बताए । 

 

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलेसंगठनले प्राप्त गरेको तालुक गृह मन्त्रालयको वर्तमान नेतृत्वबाट आगामी दिनमा नेपाल प्रहरी संगठन थप व्यावसायिक र ऊर्जावान हुने विश्वास व्यक्त गरे । 

 

उनले अपराध रोकथाम तथा अनुसन्धान र शान्ति सुरक्षा कायम गर्ने प्रहरीको मुलभूत दायित्व रहेको साथै कालोवजारी नियन्त्रण तथा विपद्बााट हुने क्षतिको न्यूनीकरणका लागि नेपाल प्रहरी सदैव कटिबद्ध रहेको बताए । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै