
जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीबारे निर्वाचन आयोगले पूर्वाग्रहपूर्ण निर्णय दिएको आरोप लगाएका छन् । उनले यस्तो निर्णय आफूहरुलाई मान्य नहुने पनि जनाएका छन् ।
अध्यक्ष यादवले आज जारी गरेको विज्ञप्तिमा निर्वाचन आयोगबाट निष्पक्ष, तटस्थ भूमिका निर्वाह हुन नसकेको उल्लेख गरेका छन् ।
‘आयोगको निर्णयमा राजनीतिक दलको बहुमतको निर्णय मान्य हुने लोकतान्त्रिक मूल्य, मान्यता, विधि र पद्धतिको सम्पूर्ण रुपले अवज्ञा, उपेक्षा र तिरस्कार गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
४ जना पदाधिकारी एवम् कार्यकारिणी समिति सदस्यहरुलाई कार्यकारिणी समितिको बेठकको बहुमतद्वारा विधिवत् निष्काशन गरी सोको अभिलेख अद्यावधिक गर्नका लागि माग गरेकोमा त्यस तर्फ कुनै निर्णय नै नदिई निर्णयविहीन रहनुका साथै आफ्नो जिम्मेवारी, संवैधानिक र कानुनी दायित्वबाट आयोग पन्छिएको प्रस्ट भएको विज्ञप्तिमा जनाइएको छ ।
यादवले आयोगको उक्त कदमविरुद्ध राजनीतिक र कानुनी उपचारका लागि लडाइँ जारी रहने चेतावनी पनि दिएका छन् । आयोगले मागेबमोजिम सम्पूर्ण कागजात एवम् प्रमाणहरुसमेत बुझाई पार्टीको दल दर्ता किताबमा अध्यावधिक गर्नका लागि पठाएकोमा त्यसलाई अस्वीकार गरिएको भन्दै उनले आपत्ति जनाएका हुन् ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit