
-->
उपत्यकामा साइकल प्रयोगकर्ता बढेसँगै यसको चोरीका घटनामा समेत वृद्धि भएको छ । यतिबेला बजारमा हजारदेखि लाखौं रुपैयाँ मूल्य बराबरका साइकल प्रयोग भइरहेका छन् । रात र दिनको समयमा घरमा कोही नभएको मौका छोपेर साइकल चोरको गिरोह नै सक्रिय रहेको छ ।
भिडियोमा देखाइएको क्लोज सर्किट क्यामरामा कैद दृश्य बुुद्धनगरस्थित एउटा घरको हो । २५ साउनको बिहान साढे दुई बजे तीन जनाको समूहमा रहेका यी युवाले घरको पर्खाल नाघेर भित्र पुगेपछि ढोकाको ताला फुटाएर दुईवटा साइकल चोरी गरेका हुन् ।
साइकलधनी अनिल सिग्देलले २६ साउनमै महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा उजुरी दर्ता गरे पनि घटनामा संलग्नहरु पक्राउ परेका छैनन् । उनले दुईथान साइकलको मूल्य दुई लाख ४० हजार रुपैयाँ रहेको निवेदनमा उल्लेख गरेका छन् ।
महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी मिमबहादुर लामाले साइकल फेला नपरेको र घटनाबारे थप अनुसन्धान भइरहेको पर्दाफासलाई बताए ।
उपत्यकामा बढ्दो साइकल संस्कृतिसँगै यतिबेला चोरहरुले काठमाडौं र ललितपुरमा चोरी गरेका साइकल भक्तपुरमा र त्यहाँ चोरी गरेका साइकल यता ल्याएर बेच्ने गरेका छन् ।
केही समयअघि नेपाल प्रहरीका एक जना अवकाशप्राप्त डीएसपीको साइकल तीनकुनेबाट चोरी भएको थियो । उनको घरमा समेत चोरहरुले अपनाएको अपराध शैली बुद्धनगर घटनाजस्तै थियो । उनको साइकल भक्तपुरमा भेटिएको हो ।
प्रहरीका अनुसार उपत्यकामा दैनिक १० वटाको हाराहारीमा साइकल हराउने गरेको छ । धेरैले उजुरी नै नगर्ने र गर्नेहरुको उजुरीमा पनि प्रहरीले ‘साइकल त चोरी भएको हो’ भनेर बेवास्ता गर्दा चोरहरुको मनोबल बढ्दै गएको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit