
सशस्त्र प्रहरी बल, नेपालले रिक्त रहेको अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि बुधवार तीनदिने सूचना निकालेको छ ।
सशस्त्र प्रहरीका एआईजी पुष्पराम केसी बुधवार सशस्त्र महानिरीक्षक (आइजीपी) मा बढुवा भएसँगै रिक्त रहेको एक पदका लागि सूचना निकालिएको हो ।
सशस्त्रले जारी गरेको सूचनामा शैक्षिक योग्यतासहित बढुवा प्रयोजनका लागि आवश्यक कागजपत्र माग गरेको छ ।
सशस्त्र प्रहरीका डीआईजीत्रय राजु अर्याल, नारायण दत्त पौडेल र चन्द्रप्रकाश (सीपी) गौतम हाल बढुवाका मुख्य प्रतिस्पर्धी हुन् ।
गृह मन्त्रालयले बुधवार बरियतामा अघि रहेका केसीलाई महानिरीक्षक र नेपाल प्रहरीमा समेत बरियता कायम राख्दै चारजना एसएसपीको डीआईजीमा बढुवा सिफारिस गरेकाले सशस्त्रमा पनि बरियतामा अघि रहेका डीआईजी अर्याल नै एआईजी बढुवा हुने अनुमान गर्न सकिन्छ ।
उनी महानिरीक्षक भएमा उनका प्रमुख प्रतिद्वन्द्वी मानिएका पौडेल समेत २२ महिना महानिरीक्षक भएर घर जानेछन् । तर, यी दुईलाई पन्छाएर सैनिक भर्ना मितिका आधारमा गौतमले बाजी मारे यी दुवै एआईजीमै घर जानेछन् ।
डीआईजीद्वय अर्याल र पौडेल १८ चैत २०५४ मा नेपाल प्रहरीमा सेवा प्रवेश गरेका अधिकृत हुन् भने डीआईजी गौतमले ३ वैशाख २०५२ मा नेपाली सेनाका अधिकृतको रुपमा सेवा प्रवेश गरेका थिए ।
यदि अर्याल महानिरीक्षक भएमा उनले चार वर्षे कार्यकाल पूरा गरेर अनिवार्य अवकाशमा गएपछि पनि पौडेल सेवा अवधिका कारण महानिरीक्षक हुन पाउनेछन् ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit