Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

वीरगञ्जमा कांग्रेसको निर्वाचन लक्षित ‘समुदाय संवाद’ कार्यक्रम

नेपाली कांग्रेसले वीरगञ्जमा ‘समुदाय संवाद’ कार्यक्रम सुरु गरेको छ । वैशाख ३० गते हुने भनिएको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी कांग्रेसले वीरगञ्ज महानगरमा ‘समुदाय संवाद’ सुरु गरेको हो ।

 

शनिबार वीरगञ्जको वडा नं २३ बाट यो कार्यक्रमको थालनी गरिएको हो । आउँदा दिनमा अन्य वडाहरूमा पनि यस किसिमको कार्यक्रम आयोजना गरिने छ । कार्यक्रममा कांग्रेस पर्साका सभापति एवम् प्रमुख अतिथि अजय द्विवेदीले नेपाली कांग्रेसले आफूलाई समयक्रमसँगै बदलेर अघि बढ्न नसक्ने हो भने पार्टीको भविष्य अझै कमजोर हुन सक्ने जिकिर गरे । 

 

पार्टीमा योगदान गरेका नेता–कार्यकर्ताको वास्तविक कदर पार्टीले गर्न नसकेको उनको गुनासो थियो । कार्यक्रमका विशेष अतिथि संविधान सभा सदस्य अनिल रुङटाले युवालाई राजनीति संगसंगै उद्यमशीलतामा पनि लाग्न सुझाव दिए । 

 

उद्यम संगसंगै राजनीतिलाई अघि बढाउन सक्ने व्यक्तिले भ्रष्टाचार र अनियमितता जस्ता सामाजिक अपराध र विकृतिबाट आफूलाई जोगाउने रुङटाको भनाइ थियो । कतिपय व्यक्तिले राजनीतिलाई व्यवसाय बनाउँदा बेथिति बढेको उनले बताए ।

 

कांग्रेस नेता एवम् प्रदेश सभा सदस्यका उम्मेदवार रामनारायण कुर्मीले राजनीतिक नेतृत्वको बोली र व्यवहारमा एकरुपता हुनुपर्ने मत व्यक्त गरे । कुनै पनि राजनीतिक नेतृत्वले गर्ने आदर्श र सिद्धान्तका कुरा उसले सबैभन्दा पहिले आफूबाटै लागू गरेर विश्वास आर्जन गर्न सक्नुपर्ने कुर्मीको भनाइ थियो ।

 

कांग्रेसका युवा नेता कञ्चन झाले समुदायमा नेपाली कांग्रेसलाई फेरि दह्रोगरी स्थापित गर्न यो कार्यक्रम ल्याइएको बताएका थिए । समुदायलाई अहिलेको युगसापेक्ष बनाउन अपरिहार्य भइसकेको झाको भनाइ थियो ।

 

‘सूचना र  संचार प्रविधिको विकाससँगै बजार विकास भयो । तर समुदाय भने पछाडि छुट्यो । समुदायलाई पनि सूचना प्रविधि र बजार संगसंगै अघि नबढाउँदासम्म सन्तुलित विकास हुन सक्दैन,’ उनले भने ।

 

वडा नं २३ का नेपाली कांग्रेस बुथ सभापति लोकनारायण यादवको सभापतित्वमा भएको कार्यक्रमको सहजीकरण रामनिवास यादवले गरेका थिए ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै