Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

नाष्टमा सूचना पहुँच केन्द्र स्थापना

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले मुलुकमै पहिलो पटक सूचना पहुँच केन्द्र सञ्चालनमा ल्याएको छ । 


आज शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमायाकुमारी यादव, मन्त्रालयका सचिव सुरेश आचार्य तथा नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ सुकका साथै दक्षिण कोरिया–नेपाल सूचना पहुँच केन्द्रका अध्यक्ष मुन योङसिकले सो केन्द्रको संयुक्त रुपमा उद्घाटन गरेका छन् । 


‘केन्द्र नामक मोबाइल भ्यानले मुलुकका ग्रामीण भेगमा पुगी शिक्षित र अशिक्षितबीचको खाडल भर्न सहयोग गर्ने विश्वास लिएको छ’, सचिव आचार्यले भने । 
यसैगरी उनले नाष्टमा सो केन्द्रको व्यवस्था भएसँगै सूचना र प्रविधिको क्षेत्रमा सहज हुने बताएका छन् । 


नाष्टका प्रवक्ता डा सुरेशकुमार ढुङ्गेलले आफूहरुले सो पहुँच केन्द्र स्थापनाका लागि सन् २०१९ मा कोरिया सरकारलाई प्रस्ताव बुझाए बमोजिम २०२० भित्र नाष्टमा आवश्यक सम्पूर्ण सामग्री जडानको काम सम्पन्न गरेको बताएका छन् । 


‘मुलुकमा कोरोना महामारी भएकाले समयमै प्रयोगमा ल्याउन पाएनौँ । यस केन्द्रको सहयोगमा सूचना र प्रविधिबारे अनभिज्ञ मानिसलाई विज्ञ तुल्याइ मोबाइल अनि ल्यापटपदेखि लिएर भाइवरका साथै म्यासेन्जर आदि सम्पूर्ण कुरा चलाउन सिकाउने छौँ’, उनले भने । 


नाष्टले सो घुम्ती पहुँच केन्द्रलाई वर्षामा एक पटक सातै प्रदेशमा लगेर जनताको माग बमोजिमको कुरा सिकाउने उनले विश्वास दिलाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै