
इजरायलका विदेशमन्त्री यायिड लपिडले नेपालसँगको साझेदारीलाई इजरायलले उच्च प्राथमिकतामा राखेको बताएका छन् । नेपाल र इजरायलबीच द्विपक्षीय सम्बन्ध स्थापना भएको ६२औँ वार्षिकोत्सवका अवसरमा भिडियो सन्देशमा लपिडले नेपालसँगको सम्बन्धलाई प्राथमिकतामा राखेको जनाएका हुन् ।
काठमाडौंमा आयोजित विशेष कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन सहभागी थिए । नेपालका लागि इजरायलका राजदूत हनान गोडेरले आयोजना गरेको उक्त समारोहमा पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले नेपालको सामाजिक–आर्थिक विकासका साथै कृषि क्षेत्रको विकासका निम्ति इजरायलले गरेको सहयोगको सराहना गरिन् ।
पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले पारस्परिक सद्भाव, सहयोग र समझदारीले नेपाल र इजरायलबीचको सम्बन्धलाई सुदृढ तुल्याएको बताउँदै विश्व शान्ति र साना देशको सुरक्षा वर्तमान विश्वका निम्ति अपरिहार्य भएको विचार व्यक्त गरे ।
परराष्ट्र सचिव भरतराज पौड्यालले कूटनीति र संवादको माध्यमबाट पश्चिम एशियामा दिगो शान्ति कायम हुनुपर्ने तथा द्वन्द्वको शान्तिपूर्ण समाधान खोजिनुपर्ने नेपालको अभिमत रहेको स्पष्ट गर्दै भूकम्प र कोरोना महामारीका बेला नेपाललाई तत्काल आपत्कालीन सहयोग गरेकामा सरकारका तर्फबाट हार्दिक आभार व्यक्त गरे ।
राजदूत गोडेरले कठिन परिस्थितिमा नेपालले इजरायललाई कूटनीतिक मान्यता दिएकामा आभार व्यक्त गर्दै इजरायलले नेपाललाई कहिल्यै नबिर्सने बताए । उनले नेपालको विकास प्रयासमा आफ्नो देशले निरन्तर सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
समारोहमा कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, इजरायलका मित्र, उद्योगपति, व्यापारी, समाजसेवी, कलाकार, साहित्यकार र वरिष्ठ सञ्चारकर्मीहरूको उपस्थिति थियो ।
इजरायलले नेपाललाई विभिन्न विषयमा विशेषगरी कृषि, शिक्षा, ग्रामीण विकास, जलस्रोत, पर्यटनलगायत क्षेत्रमा अल्पकालीन छात्रवृत्ति प्रदान गर्दै आएको छ भने कृषि व्यवस्थापन, कृत्रिम गर्भाधान, सिँचाइ, बाल्यकालीन शिक्षालगायत क्षेत्रमा निरन्तर सहयोग गरिरहेको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit