Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

गृहमन्त्री र पाकिस्तानी राजदूतबीच भेटवार्ता


गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि पाकिस्तानका राजदूत सैयद हैदरले आज शिष्टाचार भेटवार्ता गरेका छन् । गृह मन्त्रालयमा भएको भेटमा नेपाल–पाकिस्तान द्विपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यका विषयमा केन्द्रित रहेर छलफल भएको थियो ।

 

भेटमा गृहमन्त्री थापाले नेपालमा राजदूतको रुपमा कार्यभार सम्हालेका हैदरलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै उनकोे कार्यकालमा नेपाल–पाकिस्तान सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गरे । 

 

भेटमा गृहमन्त्री थापाले नेपाल र पाकिस्तानबीच जनस्तरमा सम्बन्ध रहेको चर्चा गर्दै नेपालको शिक्षा र स्वास्थ्यको क्षेत्रमा पाकिस्तानले गर्दै आएको सहयोगका लागि धन्यवाद दिए । आगामी दिनमा समेत त्यसले निरन्तरता पाउने विश्वास व्यक्त गरे ।

 

उनले केही समय अघिमात्रै नेपाली पर्वतारोही टोलीले पाकिस्तानमा रहेको विश्वकै दोस्रो सर्वोच्च शिखर केटुको हिउँदमा सफल आरोहण गरेको स्मरण गर्दै सो कार्यमा पाकिस्तान सरकारले गरेको सहयोगका लागि धन्यवाद व्यक्त गरे ।

 

उनले नेपाल र पाकिस्तानबीच सुरक्षा क्षेत्रमा प्रविधि, तालिम, अनुभव लगायतमा सहयोग आदानप्रदान बढाउँदै लैजानुपर्ने बताए । राजदूत हैदरले नेपाल–पाकिस्तान सम्बन्धको चर्चा गर्दैै आफ्नो कार्यकालमा नेपाल–पाकिस्तान सम्बन्ध थप मजबुत बनाउन आफुले सक्दो पहल गर्ने बताए ।

 

उनले नेपालको विकास र समृद्धिमा पाकिस्तान सहकार्य गर्न तयार रहेको बताउँदै नेपाललाई विभिन्न क्षेत्रमा पाकिस्तानले गर्दै आएको सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे । 

 

राजदूत हैदरले नेपालीको क्रिकेट खेलप्रतिको आकर्षणबाट आफू प्रभावित भएको भन्दै नेपालमा क्रिकेटको विकासका लागि पाकिस्तान सहयोग गर्न इच्छुक रहेको बताए । उनले आगामी दिनमा नेपाल र पाकिस्तानबीच आर्थिक क्षेत्रमा सहकार्य बढाउँदै लैजान आवश्यक रहेको टिप्पणी गरे ।

 

 

सोमबार नै राजदूत शाहले प्रधानसेनापति पूर्णचन्द्र थापासँग शिष्टाचार भेटवार्ता गरेका छन् । 

 


प्रधानसेनापति थापाको कार्यकक्षमा भएको सो भेटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।     

प्रतिक्रिया

सम्बन्धित समाचार सबै

चिनियाँ रक्षामन्त्री र गृहमन्त्रीले जव कुइनो मिलाए

अहिले कोभिड–१९ को महामारीपछि नमस्तेसँगै नयाँ पुस्तामा यो कुम मिलाउने चलन फस्टाएको छ । तर चीनको जनसेनाका उच्च तहमा रहेका फेङहेले नै यति सहज रुपमा कुम अघि सारेको देख्दा उनक...

चैत ३, २०७७