Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

बाँकेमा सेनाको स्वास्थ्य शिविर, ८९६ जनाले पाए सेवा 

उपचारका लागि शिविरमा आएकी बृद्धालाई गन्तब्यसम्म पुग्न सहयोगगर्दै नेपाली सेना । तस्बीरः नेपाली सेना

नेपाली सेनाले नागरिक सैनिक सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले कोहलपुरस्थित नेपालगञ्‍ज मेडिकल कलेज शिक्षण अस्पतालको आयोजना तथा लायन्स एण्ड लियो क्लब अफ नेपालगञ्‍ज, खजुरा गाँउपालिका तथा बाँके जिल्लामा तैनाथ भैरव प्रसाद गणको समन्वय एवं सहकार्यमा शनिबार स्वास्थ्य शिविर आयोजना गरेको छ ।

 

बाँकेको खजुरा गाउँपालिका स्थानीय बासिन्दाहरुलाई लक्षित गरी ज्ञानोदय नमुना माविमा शनिबार स्वास्थ्य शिविर सञ्‍चालन भएको हो ।

 

 

सेनाको स्वास्थ्य शिविर कार्यक्रममा जनरल सर्जरी, स्त्री रोग, आँखा जाँच, बाल रोग, इएनटी, हार्डजोर्नी तथा छाला रोगको परीक्षण गरिनुका साथै निशुल्क औषधी वितरण गरिएको थियो । स्वास्थ्य शिविरबाट महिला ५५१, पुरुष ३०७ र बालबालिका ३८ जना गरी जम्मा ८९६ जना सर्वसाधारणहरु लाभान्वित भएको सेनाले जनाएको छ । 

 

 

नेपालगञ्‍ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका निर्देशकको प्रमुख आतिथ्यतामा संचालन भएको उक्त स्वास्थ्य शिविरमा शिक्षण अस्पतालका पदाधिकारीहरु, डाक्टर, नर्स, खजुरा गाँउपालिकाका पदाधिकारी, नेपाली सेनाका अधिकृतलगायत सकलदर्जा, लायन्स एण्ड लियो क्लबका पदाधिकारी, स्थानीय पत्रकार, बुद्धिजिवि तथा स्थानीयहरुको उपस्थिती रहेको थियो । 

 

 

सेना र आम नागरिक बीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन यस किसिमको स्वास्थ्य उपचार सेवाले सकारात्मक भूमिका खेल्ने विश्‍वास नेपाली सेनाले लिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै