Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

मिलेमतो मै नारायणहिटिमा ठेक्का : छानबिन समिति

नारायणहिटी दरबार संग्रहालय क्षेत्रमा बतास समूहलाई  क्याफ्टेरिया सञ्चालनका लागि जग्गा भाडामा दिइएको विषयमा छानबिन गर्न गठित समितिले ठेक्का प्रक्रियामै मिलेमतो भएको निष्कर्ष निकालेको छ । 

 

 

छानबिन समितिले आज उक्त प्रतिवेदन मन्त्री आलेलाई बुझाएको थियो । उक्त प्रतिवेदन अनुसार क्यान्टिन क्षेत्रको स्पष्ट सीमांकनसमेत नभएको उल्लेख रहेको छ । बतास समूहले कानुनी विपरित बढी क्षेत्र ओगटेर निर्माण कार्य अगाडि बढाएको उक्त प्रतिवेदनमा बताइएको छ ।

 

 

विकास समितिका कार्यकारी निर्देशकले नयाँ संरचना बनाइरहँदा पनि वेवास्ता गरी कारबाही नगरेको भएकाले उक्त कार्यमा उनलाई छानबिन समितिले दोषी देखाएको छ । छानबिन समितिले एउटै परिवारका शेयर सदस्य रहेका तीनवटा फर्म टेन्टर आउँदा पक्रियामा नै मिलेमतो भएको खुलासा गरेको छ ।

 

 

समितिले कार्यकारी निर्देशकले अधिकार क्षेत्रभन्दा बढी सहमति गरेको निष्कर्ष निकालेको छ । ठेक्का सम्झौतामा कायम गरेको दररेटलाई स्वाभाविक मान्न नसकिने पनि छानबिन समितिले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ । समितिले नक्सा पास नगरी अनुमानित १४ रोपनी जमिनमा निर्माण गर्दा पनि आधिकारिक निकायबाट त्यसमा ध्यान नदिएको समेत बताएको छ । 

 

 

प्रतिवेदन बुझेपछि मन्त्री प्रेम आलेले कार्यकारी निर्देशक भेषनारायण दाहालले समेत अनियमित कार्य नहेरेको भन्दै दुःख व्यक्त गरेका छन् । उनले राज्यको सम्पत्ति यसरी नाश र दोहन भयो भने हाम्रो भन्ने कुरा केही बाँकी नरहेन बताएका छन् । यसमा धेरै उजुरी आएको छ, त्यसैले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि अनुसन्धान गर्ने उनले अपेक्षा राखेका छन् ।

 

 

उक्त छानबिन समितिमा कर्मचारी प्रशासन शाखाका उपसचिव टेकनारायण पौडेल, आर्थिक व्यवस्थापन महाशाखाका लेखा नियन्त्रक सूर्यमणि गौतम, सदस्यमा कानुन शाखाका उपसचिव पुरुषोत्तम खतिवडा तथा समितिको सदस्यसचिवमा शाखा अधिकृत टंकबहादुर नेगी रहेका थिए ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै