Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

कञ्चनपुरमा घरेलु कामदार १४ वर्षीया किशोरीले जन्माइन् बच्चा, प्रहरीले थाल्यो अनुसन्धान

सांकेतिक तस्बिर

सानै उमेरमा आमा बितेपछि बुबाले अर्की श्रीमती ल्याए । सौतेनी आमा आएपछि उनीमाथि कुटपिट हुन थाल्यो । कञ्चनपुरकी चौधरी थरकी ती किशोरीलाई बुबाले भीमदत्त नगरपालिकाका एक व्यक्तिको घरमा काममा राखे । 

 

किशोरी दिउँसो पढ्न जान्थिन् भने बिहान बेलुका साहुकोमा घरायसी काम गर्थिन् । साहु र श्रीमती बाहेक उनको घरमा अरु कोही थिएनन् । छोराछोरी विदेशमा छन् । नजिकका भतिजा भने उनीकहाँ आउजाउ गरिराख्थे । 

 

केही दिनअघि अचानक किशोरीको पेट दुख्न थाल्यो । १४ वर्षीया किशोरीको स्वास्थ्य खराब भएपछि साहुले १६ वर्षीय ती भतिजसँगै मोटरसाइकलमा महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पताल पठाए ।

 

अस्पतालमा उनी गर्भवती भएको पत्ता लाग्यो । उनले छोरीलाई जन्म दिइन् । अर्काको घरमा काम गर्न बसेकी ती किशोरीमा कसरी गर्भ रह्यो ? उनलाई कसैले प्रलोभन वा डर धम्की देखाएर जबर्जस्ती गर्यो कि ? बालिकासँग सोधपुछ गर्दा उनले साहुको भतिजलाई देखाइन् । 

 

कञ्चनपुर प्रहरीका अनुसार ती किशोरीले आफ्नो गर्भ रहनुमा किशोरसँगको सम्बन्ध रहेको जनाएकी छन् । घटना सार्वजनिक भएपछि किशोरीलाई मिलाउन प्रलोभन दिइएको थियो । 

 

प्रहरीले उजुरी अघि बढाउने भएपछि अर्को विकल्प मुद्दा दर्ता नगर्ने थियो । नाबालिगहरुलाई आआफ्नो परिवारको जिम्मा लगाउने र उमेर पुगेपछि बिहे गराइदिने । 

 

तर, घटना सार्वजनिक भएमा अफ्ठयारो हुने अवस्था थियो । त्यसैले महिला मानवअधिकारकर्मी र पत्रकारहरुको पनि उपस्थितमा सहमति गर्न लागिएको थियो । 

 

दुबै परिवार, एक÷एक जना अधिकारकर्मी, पत्रकार र केही राजनीतिक दलका नेताबीच छलफल भए पनि अधिकारकर्मीले साथ नदिने जनाएका थिए । 

 

घटनाबारे जानकारीमा आएपछि प्रहरीले भने उजुरी दर्ता गरेर अनुसन्धान अघि बढाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी श्याम चौधरीले आरोपितलाई नियन्त्रणमा लिई अभिभावकको संरक्षणमा राखेर अनुसन्धान अघि बढाइएको पर्दाफासलाई जानकारी दिए । ‘घटनामा पीडित र आरोपित दुवै नाबालिग छन्, त्यसकारण प्रहरीले गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको छ,’ उनले भने । 

 

नेपालको कानूनले १८ वर्ष मुनिकालाई नाबालिग मान्दै आएको छ । यस्तो उमेरमा हुने सम्बन्ध सहमतिमै भए पनि बलात्कार हुने कानुनी व्यवस्था छ । हालै यही कानुनी व्यवस्थाअनुसार जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

 

हाल किशोरी छोरीसहित महेन्द्रनगरको एक सेफ हाउसमा बसिरहेकी छन् । ‘बच्चा र आमाको स्वास्थ्य अवस्था राम्रो छ,’ नाम उल्लेख नगर्ने सर्तमा सेफ हाउसकी एक कर्मचारीले भनिन्, ‘प्रहरीको अनुरोधमा उनलाई यहाँ राखेर रेखदेख र काउन्सिलिङ गरिरहेका छौं ।’

प्रतिक्रिया

सम्बन्धित समाचार सबै