Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका नाममा कम गुणस्तरीय सामान बिक्री गरी ठगी    

फाइल तस्बिर

बर्दिया जिल्लाका केही विद्यालयहरुमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको नाम प्रयोग गर्दै कम गुणस्तरका विद्युतीय तथा स्टेशनरी सामग्रीहरु बिक्री गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

 

 

कास्की पोखरा महानगरपालिका २५ बस्ने ३९ वर्षीय प्रकाश बराल क्षेत्रीले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको नाम प्रयोग गर्दै साईबर एण्ड लाईब्रेरी नाम गरेको कम्पनीको नाममा केही प्रविधिसँग जानकार नभएका विद्यालय तथा संघ संस्थाहरुलाई भ्रममा पार्दै कम गुणस्तरका विद्युतीय तथा स्टेशनरी सामग्रीहरु उच्च मूल्यमा बिक्री गरी सर्वसाधरणलाई झुक्याई ठगी गर्दै आएका थिए । उक्त घटनाको जानकारी पश्चात् क्षेत्रीलाई प्रहरीले सोमबार दिउँसो नियन्त्रणमा लिएको छ । 

 

 

जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले गुलरिया नगरपालिका ६ स्थित बङ्लामुखी विद्यालयको परिसरमा उक्त सामग्रीहरु बिक्री वितरण गरिरहेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो । 

 

 

त्यस्तै, क्षेत्रीबाट नगद १ लाख ९२ हजार रुपैयाँ, विभिन्न बैंकका चेक ३ थान, साईबर एण्ड लाईबेरीको नाममा रहेको बिल ठेली ४ थान, प्रिन्टर १९ थान, मनिटर १९ थान, सिपियु १९ थान, प्रोजेक्टर १७ थान, पेनड्राईभ १७ थान, क्याल्कुलेटर १७ थान, राईटिङ बोर्ड २० थान, सिसिटिभि १८ थान, कि बोर्ड १९ थान, नेपाली बृहत शब्दकोश किताब ७ थान, अक्सफोर्ड किताब लगायतका विभिन्न शब्दकोश ३० थान,  बिभिन्न पुस्तक  र क्यालेण्डर भएको कार्टुन २९ थान प्रहरीले बरामद गरेको छ ।  

 

 

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै