Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

३८ क्विन्टल सुन तस्करी प्रकरण : प्रहरीलाई सफाइ, गोरेलाई जन्मकैद

मोरङ जिल्ला अदालतले ३८ क्विन्टल सुन तस्करी प्रकरणका मुख्य अभियुक्त गोरे भनिने चूडामणि उप्रेतीसहित ६ जनालाई जन्मकैदको फैसला सुनाएको छ । 

 

कर्तव्य ज्यान मुद्दामा ८ जनालाई दोषी ठहर गर्दै ६ जनालाई जन्मकैद र एक जनालाई ३ वर्ष  र अर्कोलाई ६ महिना कैद सजाय तोकेको हो । 

 

जन्मकैद पाउनेमा चूडामणि उप्रेती ‘गोरे’, टेकराज मल्ल ठकुरी, लाक्पा शेर्मा, मोहन काफ्ले, नरेन्द्र कार्की र भोजराज भण्डारी छन् । यस्तै, राजन कुमारलाई ३ वर्ष र माधव भनिने मदन प्रसाद घिमिरेलाई ६ महिना कैद सजाय भएको छ ।

 

अदालतका श्रेस्तेदार टीकेन्द्र वीरजंग राणाका अनुसार अपहरण तथा शरीर बन्धक मुद्दामा गोरेमाथिको कसुर कायम गरिएको र सजाय निर्धारण भने बाँकी रहेको छ ।

 

आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोबारसम्बन्धी मुद्दामा भने सबैले सफाइ पाएको राणाले पर्दाफासलाई बताए । ‘फरार रहेका २१ जनाको हकमा भने मुद्दा मुल्तबीमा राखिएको छ,’ उनले भने ।
 

यस्तै अदालतले तस्करी प्रकरणमा मुछिएका बहालवाला र अवकाश प्राप्त सबै प्रहरी अधिकारीलाई सफाइ दिने फैसला सुनाएको छ । याे सँगै कारागारमा रहेका एसएसपी श्यामबहादुर खत्री र डीएसपी स‌जय राउत रिहा हुने भएका छन् । 

 

सुन तस्करी प्रकरणमा अवकाशप्राप्त डीआईजी गोविन्दप्रसाद निरौला, तत्कालीन महानगरीय अपराध महाशाखा एसएसपी दिवेश लोहनी, एसएसपी श्याम बहादुर खत्री, एसपी विकासराज खनाल, डीएसपी सञ्जय बहादुर राउत, तत्कालीन डीएसपी प्रजित केसी, सई बालकृष्ण संजेल मुछिएका थिए । एसएसपी खत्री र डीएसपी राउत बाहेक अन्य प्रहरी अधिकारीलाई भने त्यतिबेला नै रिहा गर्न अदालतले आदेश दिएको थियो । यस्तै, प्रहरीहरु बिष्णु बहादुर खड्का र अम्बर बहादुर थापाले पनि सफाइ पाएका छन् ।

 

मुद्दा मुल्तबीमा राखिएका फरारहरुमा सुन तस्करीका मुख्य योजनाकार र लगानीकर्ता भनिएका एमके भनिने मोहनकुमार अग्रवाल पनि छन् । फरार रहने अन्यमा सुनील अग्रवाल, मणिराज चौलागाईं, कमल कार्की, शिवकुमार गुभाजू, अर्जुन खरेल छन् । 

 

त्यस्तै, अभियुक्तहरू प्रयास पराजुली, सञ्जय अधिकारी, समीर अधिकारी, रोहित आचार्य, माधव आचार्य, ओमप्रकाश नेवार, सन्दीप खड्का, सुरेन्द्र गौतम, उस्तम मियाँ, टुकबहादुर मगर, भविन तामाङ, आरबी भनिने रक्षा भण्डारी पनि पक्राउ परेका छैनन् ।

 

अदालतका श्रेस्तेदार  राणाले पर्दाफाससँग कुराकानी गर्दै केही व्यक्तिका हकमा निर्णय सुनाउने मिति तोकिएको बताए । 

 

९ माघ २०७४ मा तस्करीको ३३ किलो सुन हराएपछि यो प्रकरण बाहिर आएको थियो । उक्त सुन विमानस्थलबाट बानेश्वर लैजाने क्रममा हराएको थियो । तर, हालसम्म उक्त सुन प्रहरीले फेला पार्न सकेको छैन ।

 

हराएको सुन पत्ता लगाउने क्रममा गोलेले आफ्नै समूहका सनम शाक्यलाई अपहरण गरी यातना दिएका थिए । यातनाकै क्रममा उनको मुत्यु भएपछि यो घटनामा छानबिन सुरु भएको थियो । 

 

गृह मन्त्रालयले गरेको छानबिनमा गोरे र अग्रवाललगायतको समूहले ३८ क्विन्टल सुन तस्करी गरेको निष्कर्ष निकालेको थियो । यही प्रकरणमा ७७ जनालाई प्रतिवादी बनाई १९ वैशाख २०७५ मा अदालतमा मुद्दा दायर गरिएको थियो । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै