
कान्तिपुर हाफ म्याराथनको दशौँ संस्करणअन्तर्गत पुरुषतर्फको हाफ म्याराथनमा सशस्त्र प्रहरी बलका गोपीचन्द्र पार्की प्रथम भएका छन् ।
२१ दशमलव एक किलोमिटरको हाफ म्याराथनमा उनी एक घण्टा सात मिनेट ४१ सेकेण्डमा निर्धारित दूरी पूरा गर्दै पहिलो भएका हुन् । सोही प्रतिस्पर्धामा त्रिभुवन आर्मी क्लबका दीपक अधिकारी दोस्रो भए ।
पार्कीभन्दा नौ सेकेन्डले पछि परेका उनी एक घण्टा सात मिनेट ५० सेकेन्डमा निर्धारित दुरी पूरा गर्दै दोस्रो भएका हुन् । त्यस्तै त्रिभुवन आर्मी क्लबकै खेलाडी मुकेश पाल तेस्रो भए ।
उनी एक घण्टा आठ मिनेट ४७ सेकेण्डमा निर्धारित दूरी पार गर्दै तेस्रो भए । चौथो, पाँचौं र छैटौं पनि त्रिभुवन आर्मी क्लबकै धावक भए । गजेन्द्र राई एक घण्टा नौ मिनेट एक सेकेण्ड समय खर्चंदै चौथो भए ।
तरेन्द्रसिंह रावलले एक घण्टा नौ मिनेट १० सेकेण्ड समय लगाउँदै पाँचौँ भए । त्यसैगरी खगेन्द्र भाट एक घण्टा १० मिनेट १५ सेकेण्डमा निर्धारित दुरी पार गर्दै छैठौँ स्थानमा रहे ।
महिलातर्फको २१ दशमलव एक किमिको हाफ म्याराथनमा नेपाल प्रहरीकी राजपुरा पछाईं प्रथम भएकी छन् । उनी निर्धारित दूरी एकघण्टा १९ मिनेट १० सकेण्डमा निर्धारित दूरी पूरा गर्दै पहिलो भएकी हुन् ।
सशस्त्र प्रहरी बलकी पुष्पा भण्डारी एक घण्टा २२ मिनेट पाँच सेकेण्ड समय खर्चदै दोस्रो भइन् । नेपाल पुलिस क्लबकी रोवा विष्ट एक घण्टा ३० मिनेट ४२ सकेण्डमा निर्धारित दुरी पार गर्दै तेस्रो भइन् । त्यसैगरी त्रिभुवन आर्मी क्लबकी निर्मला केसी, विन्द्रा श्रेष्ठ र गीता विक क्रमशः चौथो, पाँचौँ र छैटौँ स्थानमा रहिन् ।
उक्त म्याराथनको महिला तथा पुरुषमा पहिलो हुने खेलाडीले जनही रु एक लाख प्राप्त गरेका छन् भने दोस्रो, तेस्रो, चौथो, पाँचौँ र छैटौँ हुने खेलाडीले क्रमश: ५० हजार, ३० हजार, २० हजार, १० हजार र पाँच हजार प्राप्त गरेका छन् । यसैगरी पाँच किलोमिटरको कर्पोरेट दौडमा विकास पोखरेल प्रथम भए । उनले १७ मिनेट ४८ सेकेण्डमा निर्धारित दूरी पार गरे ।
दौडमा शेरबहादुर थाउ दोस्रो र रितेश ओली तेस्रो स्थानमा रहे । सोही प्रतिस्पर्धाको महिलातर्फको दौडमा सनी तामाङ प्रथम भइन् । उनले २६ मिनेट ३२ सेकेण्डमा निर्धारित दुरी पार गरेकी थिइन् । सोही प्रतिस्पर्धामा सुनिता महर्जन दोस्रो तथा लादेन प्रधान तेस्रो भइन् ।
कर्पोरेट दौडका पहिलो खेलाडीलाई पोखरा र दोस्रोलाई नगरकोटमा बस्ने–घुम्ने प्याकेज दिइएको छ । तेस्रो हुने खेलाडीलाई माउण्टेन फ्लाइटको टिकट उपलब्ध गराइएको छ । त्यसैगरी तीन किलोमिटरको ह्विलचियर दौडमा रमेश खत्री प्रथम भए । उनी १२ मिनेट ३२ सेकेण्डमा निर्धारित दूरी पार गर्दै प्रथम भएका हुन् ।
सोही प्रतिस्पर्धामा प्रेमबहादुर विक दोस्रो र धनबहादुर थिङ तेस्रो भए । ह्विलचेयरतर्फकै महिलातर्फ यामी झाँक्री मगर पहिलो र रजनी राई दोस्रो भए । यस प्रतिस्पर्धामा पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीले जनही रु. ३० हजार, २० हजार र १० हजार प्राप्त गरेका छन् । उक्त प्रतियोगिताको उदघाटन प्रधानमन्त्री शेरबाहदुर देउवाले गरेका थिए ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit