Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

म्यादी प्रहरीलाई सम्मानजनक व्यवहार गर्न गृहमन्त्रीको निर्देशन 

गृहमन्त्री बालकृष्ण खाणले स्थानीय तह निर्वाचनका लागि भर्ना भएका म्यादी प्रहरीलाई सम्मानजनक व्यवहार गर्न निर्देशन दिएका छन् ।

 

उनले अस्थायी भर्ना गरिए पनि म्यादी प्रहरीको भूमिका महत्वपूर्ण रहेकाले काममा लगाउँदा शिष्ट व्यवहार गर्न आग्रह गरे ।

 


मंगलबार आफ्नो गृह जिल्ला आएका खाणले जिल्ला प्रशासन कार्यालय, रुपन्देहीमा भएको सुरक्षा निकायको बैठकमा सुरक्षा व्यवस्था चुस्त बनाउनसमेत सुरक्षा निकायलाई निर्देशन दिए । 

 


गृहमन्त्री खाणले स्थानीय तह निर्वाचनमा मतदाता, मतदानस्थलमा खटिएका कर्मचारीलगायत आम नागरिकको सुरक्षा गर्ने दायित्व सरकारको भएको भन्दै त्यसका लागि सबैलाई तयार रहन निर्देशन दिए । 

 


उनले चारवटै सुरक्षा निकायको समन्वयमा जिल्लाको सुरक्षालाई व्यवस्थित गरेर लैजान र मतदानस्थल, मतपेटिकाको सुरक्षामा पनि विशेष ध्यान दिन आग्रह गरे । उनले सुरक्षा निकायबाट सम्भावित जोखिम अध्ययन गरी अति संवेदनशील र संवेदनशील क्षेत्रको सुरक्षालाई विशेष ख्याल गर्न निर्देशन दिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए । 

 


बैठकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, लुम्बिनी प्रदेश प्रमुख, नेपाली सेना, राष्ट्रिय अनुसन्धानका अधिकृत एवं रुपन्देही, कपिलवस्तु र नवलपरासीका प्रमुख जिल्ला अधिकारीको सहभागिता थियो । 

 


त्यस्तै, तीनवटै जिल्लाका सशस्त्र, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान प्रमुखको पनि सहभागिता थियो । बैठकमा प्रमुख जिल्ला अधिकारी र जिल्ला सुरक्षा निकायका प्रमुखले आ–आफ्नो जिल्लाको सुरक्षा अवस्थाबारे जानकारी गराएका थिए । उनीहरूले निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न लागिपरेको बताएका थिए ।

 


रुपन्देहीमा २०८ मतदानस्थल कायम गरिएका छन् । तीमध्ये ६३ अतिसंवेदनशील, ६८ संवेदनशील र ७७ लाई सामान्य सूचीमा वर्गीकरण गरिएको छ । सुरक्षा संवेदनशीलताको आधारमा सुरक्षाकर्मीको व्यवस्थापन गरिने प्रमुख जिल्ला अधिकारी तिवारीले बताए । रुपन्देहीमा ६ लाख ३२ हजार ३६० मतदाता छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै