Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

डीआईजीमा बढुवा भएका डाक्टर श्रेष्ठ र ठाकुरले लगाए दर्ज्यानी चिन्ह 

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले हालै पदोन्नति भएका २ जना प्राविधिक प्रहरी नायब महानिरीक्षकहरूलाई प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक कार्यक्रमबीच दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका छन् ।


नेपाल सरकार गृह मन्त्रालय (मन्त्रीस्तर) को २०७८ पुस १६ को निर्णयले पुस १४ गतेबाट लागू हुने गरी चिकित्सकतर्फ प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षकबाट प्राविधिक प्रहरी नायब महानिरीक्षक पदमा पदोन्नति भएका प्राविधिक प्रहरी नायब महानिरीक्षकद्वय डा सञ्जय बिक्रम श्रेष्ठ र डा गोपेश कुमार ठाकुरलाई प्रहरी महानिरीक्षक थापा क्षेत्रीले दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन् । 


दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रममा उपस्थित प्रहरी अधिकृतहरूलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले बिरामीलाई सेवा सुविधा तथा रोगको निदान गर्ने चिकित्सकको पेशागत धर्मलाई मनन गरी उनीहरूप्रति सदैव मर्यादित एवं देवतुल्य व्यवहार गर्नेतर्फ चनाखो हुनुपर्ने बताए । पदोन्नतिसँगै जिम्मेवारी समेत बढ्ने भएकोले आफ्नो कार्य क्षमतालाई फराकिलो बनाई संगठनले खोजेको र सेवाग्राहीले पाउने उपचार पद्धतीलाई अझै उत्कृष्ट बनाउन आ–आफ्नो तर्फबाट पहल गर्न उनले निर्देशन समेत दिए। 


प्रहरी महानिरीक्षक थापा क्षेत्रीले सरुवा बढुवा लगायत सेवा सुविधाका लागि संगठनमा एउटा प्रणाली विकसित गरिएको चर्चा गर्दै हरेक प्रहरी कर्मचारीलाई नियम कानुन बमोजिम न्याय दिने संगठनको ध्येय रहेको बताए । 

उनले प्रहरी अस्पतालको सेवा तथा चिकित्सकको व्यवहारलाई स्मरणयोग्य बनाउनुपर्नेमा जोड दिनुपर्ने उल्लेख गर्दै पदोन्नती भएका प्रहरी अधिकृतहरूको व्यावसायिक सफलताको कामना गरे ।


कार्यक्रममा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी नायव महानिरीक्षक डा सञ्जय बिक्रम श्रेष्ठले बढुवाले जे जति खुसी र गौरव प्रदान गरेको छ त्यो भन्दा बढी जिम्मेवारी बोध भएकोले जिम्मेवारीलाई हृदयदेखि मनन गरी पेशागत कार्यक्षमताका साथ उत्कृष्ट ढंगले काम गर्ने प्रतिवद्धता व्यक्त गरे।


कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै