Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

हेलो सरकारदेखि यी माध्यमबाट आउँछन् प्रहरीविरुद्ध उजुरी

नेपाल प्रहरीले चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा प्रहरी कर्मचारीविरुद्ध ३६७ वटा उजुरी परेकोमा ६२ प्रतिशत फछ्र्योट गरेको छ । प्रहरी मुख्यालयका अनुसार १३८ वटा उजुरी छानबिनको क्रममा छन् भने २२९ वटा फछ्र्योट भएको हो । 

 

प्रहरी कर्मचारीविरुद्ध प्रधानमन्त्री कार्यालयअन्तर्गतको हेलो सरकार, गृह मन्त्रालय, प्रहरी महानिरीक्षकको सचिवालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पत्रपत्रिका, इकम्प्लेन र अन्य गरी उक्त संख्यामा उजुरी परेको हो । 

 

हाल प्रहरीविरुद्ध हेलो सरकारबाट आएका ६२, गृह मन्त्रालयका ८, प्रहरी महानिरीक्षकको सचिवालयका ३७, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १४, इकम्प्लेन १५ र अन्य २ गरी १३८ वटा उजुरी छानबिनको क्रममा छन् । 

 

प्रहरी कर्मचारीविरुद्ध परेको उजुरी गत आर्थिक वर्षको साउनदेखि मंसिरसम्मको अवधिको तुलनामा यसपटक सोही अवधिमा ३ दशमलव ६७ प्रतिशत रहेको प्रहरी मुख्यालयले जनाएको छ । गत आवको पहिलो पाँच महिनामा ३८१ वटा उजुरी दर्ता भएका थिए ।

 

साउनदेखि मंसिरसम्मको पाँच महिनामा ११ सय ४५ प्रहरी अधिकारी कारबाहीमा परेका छन् । कारबाही पर्नेमा प्रहरी उपरीक्षक (एसपी) देखि प्रहरी कार्यालय सहयोगीसम्म छन् । एसपी ३ जना, डीएसपी ४, इन्स्पेक्टर १२, प्रहरी नायव निरीक्षक (सई) ४६, प्रहरी सहायक निरीक्षक (असई) ८६, हवल्दार ३०५ , जवान ६७५ जना र कार्यालय सहयोगी १४ जना कारबाहीमा परेको प्रहरी प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त कुँवरले जानकारी दिए ।

 

उनका अनुसार प्रहरी आचरण तथा प्रहरी नियमावली विपरीत काम गरेकाले उनीहरुलाई कारबाही गरिएको हो । यस्तै, राम्रो काम गर्ने १ हजार ९ सय ८० प्रहरीलाई पुरस्कृत समेत गरिएको छ । पुरस्कृत हुनेमा डीआईजी १, एसएसपी ६, एसपी २१, डीएसपी ७७ र इन्स्पेक्टर १६४, सई २६४, असई २८८, हवल्दार ४४१, जवान ७३३ र कार्यालय सहयोगी ३ जना छन् । 

 

प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार गत आर्थिक वर्षको यही अवधिमा १ हजार ६ सय ९० जनाले पुरस्कार पाएका थिए भने ९४४ जनाले सजाय पाएका थिए । पुरस्कार पाउनेको संख्या १७.१६ प्रतिशतले र सजाय हुनेको संख्या २१.२९ प्रतिशतले बढेको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै