Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

लागूऔषध खैरो हेरोइनः  फकाउने, चखाउने अनि फसाउने 

लागूऔषध खैरो हेरोइन (ब्राउन सुगर) को चारदेखि पाँच डोज एउटा ब्यक्तिलाई अम्मली बनाउन काफी हुने यसका जानकार बताउछन् । यतिबेला महँगो यो कडा लागूऔषधका खुद्रा कारोबारी दिनहुँ देशका विभिन्न भागबाट पक्राउ परिरहेका छन् । 

अनुसन्धान अधिकारीहरुका अनुसार यसरी पक्राउ पर्नेहरु आफु प्रयोगकर्ता हुन् । लागूऔषधको जोहोगर्न यो समूहले सीमावर्ती भारतका विभिन्न शहरमा पुगेर सानो परिमाणमा खरिदगर्ने गर्छन् । यसरी खरिद गरेको खैरो हेरोइन केही आफुले खपत गर्ने र केही बेचेर रकम संकलनगर्ने गर्छन् । यो चरण निरन्तर दोहोरी रहेको हुन्छ । 

झनै डरलाग्दो त, खैरो हेरोइनका खुद्रा बिक्रेता (पेडलर) हरुले यसका नयाँ प्रयोगकर्ताहरुको खोजी गरिरहेका हुन्छन् । उनीहरुलाई सुरुमा चखाउने अनि फकाउने र उ अम्मली भएपछि फसाउने चक्र चलिरहेको हुन्छ । 

 

 

इलाका प्रहरी कार्यालय दमकको टोलीले बिहीबार ३६ ग्राम ब्राउनसुगर (खैरो हेरोइन) सहित मोरङ रतुवामाई नगरपालिका–२ का २१ वर्षीय कनैया गनगाईं र २० वर्षीय राजकुमार गनगाईंलाई पक्राउ ग¥यो । 

 

त्यसको केही दिनअघि मात्र झापा प्रहरीले ५० ग्राम ब्राउनसुगरसहित सुनसरी धरान उपमहानगरपालिका–१७ का २४ वर्षीय ईश्वर थापा र पाँचथर हिलिहाङ गाउँपालिका–२ का २८ वर्षीय अरुण सुब्बा लिम्बूलाई पक्राउ गरेको थियो ।

 

यी त केही प्रतिनिधि घटना मात्र हुन्, पछिल्लो समय झापाबाट ब्राउनसुगर कारोबारमा संलग्न दिनहुँजसो पक्राउ पर्दै आएका छन् । प्रहरीले कारोबारी र प्रयोगकर्तालाई लक्षित गरेर सक्रियता बढाएपछि ब्राउनसुगर बरामद हुन थालेको हो ।

 

चालू आर्थिक वर्षको ६ महिनामा मात्रै प्रदेश १ प्रहरीले १ हजार १६४ ग्राम ब्राउनसुगर र ३३६.३१२ केजी गाँजा बरामद गरेको छ । यसले पनि पूर्वी तराई हुँदै पहाड र हिमालसम्म लागूऔषधको समस्या कति विकराल भइरहेको छ भन्ने पुष्टि गर्छ । 

 

झापाका प्रहरी प्रमुख एसपी सानुराम भट्टराईले जिल्लाका युवावर्गमा लागूऔषधको दुर्व्यसनी चिन्ताजनक विषय भएको बताए । त्यही कारणले कारोबारीलाई पक्राउ र प्रयोगकर्तालाई सचेतनाका कार्यक्रम सञ्चालन गरिरहेको उनको भनाइ छ । 

 

झापाको १४४ किलोमिटर सीमा भारतसँग जोडिएको छ । खुला सीमाका कारण भारतबाट नेपालमा लागूऔषध भित्रिरहेको छ । प्रहरीका अनुसार झापा तथा अन्य जिल्लाका सेवनकर्तालाई कारोबारीले टार्गेट गरेका छन् । 

 

‘अहिले हामीले बरामद गरेको धेरैजसो ब्राउनसुगर नै हो । स्थानीय कारोबारीहरुलाई पक्राउ गरेका छौं,’ एसपी भट्टराईले भने । उनका अनुसार पक्राउ परेकाहरुले अधिकांश जसो आफै पनि प्रयोग गर्ने र अरुलाई पनि बेच्ने गर्दै आएका छन् । 

 

थोरै परिमाणमा भारतबाट ल्याउने र आफूले पनि प्रयोग गरी अरुलाई पनि बेच्नेहरुलाई ‘पेडलर’ भनिन्छ । त्यस्ता पेडलरहरुको सिन्डिकेट तोड्ने काम अहिले झापा प्रहरीले गरिरहेको छ । 

 

यद्यपि, लागूऔषधको समस्या कुनै एक जिल्ला विशेषमा मात्र नभएर नेपालभर नै उस्तै छ । पूर्वडीआईजी हेमन्त मल्लका अनुसार काठमाडौं र पोखरा लागूऔषध कारोबारका लागि ठूला क्षेत्र हुन् । तर, पछिल्लो समय तराईका विराटनगर, नेपालगन्ज, महेन्द्रनगर, बुटवल लगायतका ठूला सहरमा पनि यसको प्रयोग बढिरहेको छ ।

 

हालै मात्र प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले ५३६.५ ग्राम ब्राउन सुगरसहित ९ जनालाई पक्राउ गरेको थियो । यो केही वर्षयताकै ठूलो परिमाणमा बरामद भएको हो । 

 

प्रहरीका अनुसार नेपालमा भारतबाट नै लागूऔषध ओसारपसार कारोबार भइरहेको छ । खुला सीमा कारोबारीका लागि वरदान साबित भएको छ । पछिल्लो समय म्यानमारबाट पनि भारत हुँदै नेपालमा लागूऔषध आएको प्रहरीको अनुमान छ ।

 

साना कारोबारी मात्रै पक्राउ

ठूला कारोबारी भारतमा नै बस्ने र भरियाहरुलाई नेपालमा पठाउने र तिनै व्यक्ति मात्र पक्राउ पर्दै आएका छन् । नेपालमा बरामद भएका अधिकांश कम गुणस्तरका ब्राउनसुगर छन् ।

 

लागूऔषध कारोबार नियन्त्रणका लागि भने खासै प्रभावकारी रुपमा काम हुन नसकेको पूर्वडीआईजी मल्ल बताउँछन् । ‘अहिले म्यानमारबाट इन्डिया हुँदै नेपालमा ब्राउन सुगर आयात भइरहेको खबर आएको छ । नेपालमै पनि कतै यसको उत्पादन सुरु भएको त छैन भन्ने पनि आशंका छ,’ मल्लले भने, ‘जे भए पनि नेपालमा लागूऔषध नियन्त्रण प्रभावकारी रुपमा हुन सकेको छैन ।’ 

 

 

प्रहरीको सक्रियतामा सानोसानो परिमाणमा बरामद गरे पनि अब ठूला कारोबारीलाई नै टार्गेट गर्नुपर्ने उनको भनाइ छ । उनका अनुसार यसका लागि प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोबाट विशेष अपरेसनहरु सञ्चालनलगायतका काम आवश्यक देखिएको मल्लले बताए ।

 

कारोबारीलाई समात्नका यस क्षेत्रमा लामो समय काम गरेका अनुभवी र योग्य जनशक्तिको आवश्यकता पर्छ । तर, लागूऔषध नियन्त्रणका लागि ब्युरोमा यस क्षेत्रमा दख्खल र विशेषज्ञता हासिल गरेका जनशक्ति भने कमै रहेको पूर्वडीआईजी मल्लले बताए । ‘त्यसले गर्दा पनि प्रभावकारी रुपमा काम हुन सकेको छैन,’ उनले भने ।

 

लागूऔषध नियन्त्रण ब्युरोका एसएसपी दिलीप कुमार चौधरी पनि अत्याधुनिक मेशिन र जनशक्तिको अभाव रहेको स्वीकार्छन् । ‘लागूऔषध कारोबार नियन्त्रणका लागि अत्याधुनिक प्रविधि तथा जनशक्तिको कमी नै छ । कुनै शंकास्पद व्यक्तिको शरीरमा रहेको लागूऔषध थाहा पाउने मेसिन हामीसँग छैन । जनशक्ति पनि अपुग नै छ, जनशक्ति बढ्ने हो भने देशैभरि अझ प्रभावकारी रुपमा काम गर्न सक्छौं,’ चौधरीले भने ।

 

तर, ब्युरोले लागूऔषध कारोबारमा संलग्नलाई कारबाहीका लागि प्रभावकारी रुपमा नै काम गर्दै आएको उनको दाबी छ । ठूलो कारोबारीलाई पनि टार्गेटमा राखिएको उनले बताए ।

 

पूर्वडीआईजी मल्लले नेपाललाई ट्रान्जिट बनाएर विगतमा पनि लागूऔषध कोकिन, हेरोइनलगायतको ओसारपसार हुँदै आएको र अहिले पनि त्यस्तै अवस्था हुनसक्ने बताए । 

 

ब्युरोका एसएसपी चौधरीले भने पछिल्लो समय नेपालमा अन्तर्राष्ट्रिय उडान बन्द र स्थलमार्गमा पनि कडाइ भएकाले नेपाललाई लागूऔषधको ट्रान्जिट बनाउने कमै भएको दाबी गरे । ‘यद्यपि, त्यसतर्फ नियन्त्रणका लागि पनि हाम्रो जनशक्ति खटिएको छ,’ उनले भने ।

 

कसरी फस्छन् युवा ?
लागूऔषध प्रयोगकर्तालाई लक्षित गरेर वर्षौंदेखि पुनःस्थापना केन्द्र चलाउँदै आएका सहारा हाउस नेपालका अध्यक्ष अभिराज क्षत्रीका अनुसार लामो समयदेखि लागूऔषध प्रयोग गरिरहेका व्यक्तिहरुले नै नयाँ मानिसहरुलाई प्रयोगका लागि उक्साउने गर्छन् ।

 

‘उनीहरुले कलेज, टी शप, कफी कर्नर जस्ता युवाको चहलपहल हुने क्षेत्रलाई टार्गेट गर्छन्,’ अध्यक्ष क्षत्रीले भने, ‘त्यहाँ उनीहरुले नयाँ व्यक्तिलाई प्रभाव पार्छन् र लागूऔषध प्रयोग गराउँछन् ।’ सुरुसुरुमा फ्रिमा नै स्वाद चखाउने र यो खाए आनन्द हुन्छ, सबै तनाव हट्छ, जस्ता प्रलोभन देखाउने उनी बताउँछन् ।

 

क्षत्रीका अनुसार एक दुई पटक खानेहरुले लागूऔषधको स्वाद नै थाहा नपाउने, तर सेवन गर्न मन लाग्ने हुने गर्छ । ‘एकै दिनमा कोही व्यक्ति लागूऔषधको धेरै मात्रा प्रयोग गर्ने बन्दैन, यो विस्तारै विस्तारै बढ्ने हो,’ उनले भने, ‘सुरुसुरुमा उत्सुकता हुन्छ, खाँदा आनन्द आएजस्तो हुन्छ, पछि नभई नहुने हुन्छ । लागूऔषध विना बाँच्न नै नसक्ने र त्यसका लागि जे पनि गर्न तयार हुन्छन् ।’

 

लागूऔषधको प्रयोग बढ्दै गएपछि कुनै पनि कुराको महसुस नै नहुने, दैनिक काम गर्न नसक्ने, रिफ्रेस नदेखिने, शरीर दुख्नेलगायतका समस्या बढ्दै जान्छन् । व्यक्ति विस्तारै मानसिक रुपमा विक्षित हुने र आपराधिक गतिविधि गर्न पनि पछि नपर्ने उनले बताए । ‘भावनात्मक रुपमा शून्य भएका त्यस्ता व्यक्तिले परिवारसँग झगडा, चोरी गर्ने जस्ता गतिविधि गर्छन्,’ उनले भने ।   

 

त्यस्ता व्यक्तिलाई सल्लाहले कुनै काम नगर्ने भएकाले सहयोग नै गर्नुपर्ने क्षत्री बताउँछन् । ‘लागूऔषधको कुलतमा लागेकालाई खुशी बनाउन मोबाइल, मोटरसाइकल किन्दिने, विवाह गरिदिनेलगायत काम परिवारले गर्छन्,’ उनले भने, ‘तर त्यसले लागूऔषधको प्रयोग छुटाउन सक्दैन ।’

 

लागूऔषध छुटाउन व्यवहारमा नै परिवर्तन ल्याउनुपर्ने र त्यसका लागि पुनःस्थापना केन्द्रमा उपचार गराउनुपर्ने उनको भनाइ छ । केन्द्रबाट व्यक्तिलाई लागूऔषध प्रयोग छोड्ने, नशारहित जीवन बिताउने र समाजका लागि सहयोगी बन्नेतर्फ सिकाइने उनले बताए । 

 

युवा वर्ग लागूऔषधको कारोबार र प्रयोगमा फस्नु ठूलो चिन्ताको विषय भएको पूर्वडीआईजी मल्लले बताए । ‘देश निर्माण गर्ने युवाशक्ति नै लागूऔषधको कुलतमा लाग्नुु चिन्ताजनक विषय हो, यसले अपराध बढाएको छ नै देश विकासमा पनि ठूलो बाधा पु¥याउँछ,’ उनले भने, ‘तर, सरकारले नै यसको नियन्त्रणमा खासै ध्यान दिएको देखिँदैन ।’

प्रतिक्रिया

सम्बन्धित समाचार सबै