
काठमाडौं । सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशविक्रम शाहीले ‘बेस्ट कमाण्ड एण्ड स्टाफ कोर्ष अवार्ड’ तथा ‘बेष्ट रिसर्च अवार्ड’ प्राप्त गरेका छन् । शुक्रबार सशस्त्रको प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आयोजित विशेष समारोहमा सम्पन्न पाँचौं समूहको ‘एपीएफ कमाण्ड तथा स्टाफ कोर्ष’मा सर्वोत्कृष्ट हुनुकासाथै रिसर्चतर्फ समेत उत्कृष्ट भएका शाहीलाई सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले उक्त अवार्ड प्रदान गरेका हुन् ।
सोही अवसरमा त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकायका डिन प्रा.डा. कुशुम शाक्यले डीएसपी शाहीलाई ‘वेष्ट एकेडेमीक अवार्ड’ प्रदान गरे । सोही अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक खनाल र प्रा.डा. शाक्यले एपीएफ कमाण्ड तथा स्टाफ कलेज जर्नलको लोकार्पण समेत गरे ।
महानिरीक्षक खनालले उक्त कोर्ष सफलता पूर्वक सम्पन्न गरेका मध्यम तहका एपीएफ अधिकृतहरुले भोलीका दिनमा सांगठनिक जिम्मेवारी निर्वाहका क्षेत्रहरुमा पूर्ण व्यावसायिक भई कुशल क्षमता प्रदर्शन गर्ने विश्वास व्यक्त गरे । उनले सशस्त्र प्रहरी कर्मचारीहरुलाई देश र जनताको सेवा, सुरक्षा तथा सहयोग एवं आपत विपद्मा परेकाहरुको उद्धार कार्यमा पूर्ण व्यावसायिक भई कार्यक्षेत्रमा निरन्तर क्रियाशील रहन निर्देशन समेत दिए ।
उक्त कोर्ष त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकायमा सुरक्षा, विकास तथा शान्ति अध्ययनमा स्नातकोत्तर रहेको कुरा कार्यक्रममा जानकारी गराइएको थियो । गत साल भदौ १५ गतेबाट संचालित १६ महिना अवधिको सो कोर्षमा ४ जना सशस्त्र प्रहरी उपरीक्षक, १४ जना सशस्त्र प्रहरी नायव उपरीक्षक र १ जना प्रमुख अनुसन्धान अधिकृत गरी कुल १९ जना अधिकृतहरु सहभागी रहेका थिए ।
सो कोर्षमा सहभागी अधिृकतहरुलाई स्टाफ ड्युटीज, इन्टेलिजेन्स, द्वन्द्व व्यवस्थापन, सुरक्षा, विकास, शान्ति, मानवअधिकार, अन्तर्राष्ट्रिय मानवीय कानून, नेतृत्व तथा व्यवस्थापन, राष्ट्रिय सुरक्षा रणनीति, नीतिनिर्माण तथा योजना लगायतका विविध विषयहरुमा सम्बन्धित विषयका विज्ञहरुद्वारा अध्यापन गराइएको थियो ।
उक्त विशेष समारोहमा अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षकद्वय सनतकुमार बस्नेत र दुर्जकुमार राई लगायत गृह मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका वरिष्ठ अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit