Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

रोग निको हुने भन्दै युवा फसाउदैं गरेका ओरियन्सका तीन एजेन्ट म्याग्दीमा पक्राउ

जिल्ला प्रहरी कार्यालय म्याग्दी

प्रहरीले पीरामिड शैलीको अवैध ब्यवसाय भारतीय ओरियन्स ग्लोबल मार्केटिङ प्रालीका तीन एजेन्टलाई बेनीबजारबाट पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार  ओरियन्स लगायतका नेटवर्कमा आधारित व्यवसायका नाममा म्याग्दी जिल्लाका थुप्रै युवाहरुलाई प्रलोभनमा पारी अवैध व्यवसाय र ठगी भईरहेको सुचनाका आधारमा अनुसन्धान गर्दा ओरियन्सका उत्पादन सहित तीनजना पक्राउ परेका हुन् । 

उनीहरुले म्याग्दी, पर्वत, बाग्लुङ लगायतका  जिल्लामा भारतीय कम्पनी ओरियन्सले भारतमा उत्पादन गर्दै आएका बिभिन्न नामका फुड सप्लिमेन्टहरू  नेपालमा ल्याई व्यक्तिहरूलाई विभिन्न रोगहरु निको हुने, छोटो समयमै राम्रो कमिशन प्राप्त हुने प्रलोभन देखाई निश्चित परिमाणमा फुड सप्लिमेन्टहरू किन्न लगाई सदस्य बनाउने गरेका थिए । र सोही व्यक्तिहरुका माध्यमबाट अन्य व्यक्तिहरुलाई समेत सदस्य बनाई पिरामिड शैलीको सञ्जाल बनाई व्यवसाय संचालन गर्ने गरेका थिए । 

पक्राउ पर्नेमा  पोखरा महानगरपालिका–५, मालेपाटनमा गण्डकी हर्वल स्टोर्सका सञ्चालक होमनाथ जैसी, सोही स्थानमा  बस्ने बर्ष २४ को सरोज शर्मा र काठमाण्डौ टोखा बस्ने प्रदिप रिजाल रहेका छन् । 

प्रारम्भिक अनुसन्धानको क्रममा उल्लेखित व्यक्तिहरुले म्याग्दी जिल्लाका १४१ जना व्यक्तिहरु लगायत कुल २५३ जना व्यक्तिहरु उक्त व्यवसायको सञ्जालमा आबद्ध गरेको पाईएकोले ठगी मुद्दामा अनुसन्धान सुरु भएको छ । 

म्याग्दी प्रहरी प्रमुख डीएसपी किरणजंग कुँवरले अनुसन्धानको क्रममा संदिग्ध कसुरजन्य गतिविधि पर्वत जिल्ला, जलजला, मिलनचोकबाट सञ्चालन भएको जानकारी प्राप्त भएपछि कानूनी क्षेत्राधिकार अन्तर्गत पर्वत प्रहरीमा विस्तृत अनुसन्धानको लागि पठाईएको बताए ।

पर्वत प्रहरीले  ठगी मुद्दाको अनुसन्धान गरिरहेको उनले बताए । साथै बस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) ऐन, २०७४ बमोजिम पिरामिडमा आधारित व्यवसाय समेत संचालन गरेको देखिएकोले सो बिषयमा समेत अनुसन्धान र आवश्यक कारवाहीको लागि बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभाग, बबरमहल काठमाण्डौमा समेत पठाइएको उनले जानकारी दिए । 

कानुन अनुसार  नेपालमा कुनै पनि प्रकारको पिरामिडमा आधारित व्यवसाय सञ्चालन गर्न नपाउने व्यवस्था रहेको छ ।

अनावश्यक प्रलोभनमा परी पिरामिड शैलीका सञ्जालयुक्त अवैध व्यवसायहरुमा नलाग्न, पर्याप्त कानूनी र स्वास्थ्य सम्बन्धी जानकारीहरु लिएर, कारोबार गरिने बस्तु र व्यवसायको बैधता र विश्वसनियता परीक्षण गर्नुहुन म्याग्दी प्रहरीले अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै

विद्युत प्रशारण विस्तार आयोजनाका प्रमुख १० लाख रुपैयाँ घुस रकमसहित पक्राउ 

मकवानपुरको हेटौंडाबाट १० लाख रुपैयाँ घुस रकमसहित विद्युत प्रशारण विस्तार आयोजनाका प्रमुख  इन्जिनियर पक्राउ परेका छन् ।

कार्तिक १९, २०७७