
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तीन ‘गुन्डा नाइके’विरुद्ध सर्वोच्च अदालतमा दायर गरेको मुद्दाको पेशी आज तोकिएको छ । गैरकानूनी गतिविधिबाट अकूत सम्पत्ति आर्जन गरेको आरोप लागेका गणेश लामा, चक्रे मिलन भन्ने मिलन गुरुङ र पर्शुराम भन्ने कृष्ण बस्नेतको मुद्दा पेशीमा चढेको हो ।
लामा र बस्नेतको मुद्दाको सुनुवाइ न्यायाधीश आनन्दमोहन भट्टराई र प्रकाशकुमार ढुंगानाको इजलासमा तोकिएको छ भने गुरुङविरुद्धको मुद्दाको पेशी ईश्वरप्रसाद खतिवडा र टंकबहादुर मोक्तानको इजलासमा तोकिएको छ ।
विभागले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानको आधारमा पाँच जनाविरुद्ध २०७० सालमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । बाँकी दुई हाल गण्डकीका प्रदेश सभा सदस्य रहेका दीपक मनाङे र अभिषेक गिरी हुन् ।
उनीहरुमाथि अवैधानिक गतिविधिबाट सम्पत्ति आर्जन, व्यक्तिलाई धम्काएर असुल र उक्त सम्पत्ति वैधानिक बनाउन विभिन्न स्थानमा लगानी गरेको आरोप छ ।
तर, विशेष अदालतले लामाबाहेक चार जनालाई सफाइ दिएपछि विभाग सर्वोच्चमा पुगेको हो । सम्पत्ति शुद्धीकरण ऐन आउनुभन्दा पहिलेको सम्पत्ति आर्जन देखिएको भन्दै अरुलाई विशेष अदालतले सफाइ दिएको थियो ।
मनाङेका हकमा भने म्याद समाप्त भएपछि मात्र निवेदन पुगेकाले मुद्दा नचल्ने फैसला भएको थियो । सर्वोच्चमा गिरीको मुद्दा भने विचाराधीन छ ।
विशेष अदालतले आफूलाई दोषी ठहर गरेपछि पुनरावेदनका लागि लामा पनि सर्वोच्च पुगेका थिए । उनलाई विशेष अदालतले एक वर्ष कैद र १ करोड ४० लाख ५० हजार बराबरको बिगो बापतको सम्पत्ति जफत हुने फैसला सुनाएको थियो ।
गुन्डागर्दी लगायत आपराधिक गतिविधिबाट उनले सयौं रोपनी जग्गा र २७ करोड १ लाख रुपैयाँ सम्पत्ति जोडेको भन्दै विभागको आरोप छ । लामाले अवैध रुपमा आर्जन गरेको रकमबाट पेट्रोल पम्प, जग्गा र विभिन्न कम्पनीमा लगानी गरेको विभागले आफ्नो अभियोग पत्रमा उल्लेख गरेको छ ।
अर्का आरोपी गुरुङले ८ करोड रुपैयाँ अवैध सम्पत्ति आर्जन गरेको, काठमाडौं र गोरखामा करिब ३० रोपनी जग्गा रहेको विभागले जनाएको छ । बस्नेतले गैरकानुनी तवरबाट ११ करोड बराबरको सम्पत्ति आर्जन गरेको र श्रीमतीसहितको सहयोगमा त्यस्तो सम्पत्ति लुकाएको विभागको आरोप छ ।
गिरीलाई भने सम्पत्ति ऐन जारी हुनुभन्दाअघि नै आर्जन गरेकाले दोषी ठहर गर्न नमिल्ने विशेष अदालतले फैसला गरेको थियो । उनीविरुद्ध सर्वोच्चमा दायर मुद्दामा गत ३ असारमा मुद्दाको पुनरावलोकनसँगै विपक्षीलाई झिकाउने आदेश न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठको इजलाशले दिएको थियो । विभागले गिरीसँग २ करोड ९४ लाख रुपैयाँ अवैध सम्पत्ति रहेको दाबी गरेको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit