
प्रहरीले चर्चित रेमण्ड सपका संचालक तथा सार्वजनिक ब्यक्तित्व सञ्जय अधिकारी र उनका छोरा समिर अधिकारी सहित चारजनालाई किर्ते तथा ठगी आरोपमा पक्राउ गरेर मुद्दा चलाएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार नेपाली सेनाका लागि ३५ हजार थान छालाको बुट सप्लाई टेण्डरमा साझेदार रहेका अधिकारीले अन्य साझेदारलाई थाहै नदिई किर्ते गरेर रकम निकालेको आरोपमा पक्राउ गरेको हो ।
परिसरका अनुसार फुट केयर इन्डस्ट्रीज प्रालीका साझेदार रहेका अधिकारीले प्रभु बैंकमा यो कम्पनीको चेक र संचालक समितिको विवरण तथा हस्ताक्षर किर्ते गरेका हुन् । उनी माथि ४ करोड ८७ लाख रुपैयाँ किर्ते गरेर निकालेको आरोप लागेको छ ।
परिसर प्रमुख एसएसपी अशोक सिंहका अनुसार ठेकेदार कम्पनीका अन्य संचालक शिलबहादुर केसी र नोखबहादुर थापाले किर्ते आरोपमा जाहेरी दिएपछि अधिकारी सहित चारजनालाई पक्राउ गरिएको हो ।
घटनामा शिलबहादुरले आफ्नै छोरा सुवर्ण केसी बिरुद्ध समेत जाहेरी दिएका छन् । पक्राउ पर्ने चौथो आरोपीमा कृष्ण भट्टराई रहेका छन् ।
पक्राउ परेका अधिकारी सत्तारूढ नेकपा देखि विपक्षी नेपाली कांग्रेशसम्म नेता, उच्च सरकारी अधिकारी र सुरक्षा निकायमा पहुँच भएका ब्यक्ति हुन् । उनले प्रयाेग गर्ने सामाजिक सञ्जालमा उच्च पदस्थ अधिकारीसँगकाे हिमचिम रहेका तस्वीर हेर्न सकिन्छ ।
यसबाहेक अधिकारी नेपाल प्रहरीका लागि एकजना सहयाेगी पनि हुन् ।
परिसरका एक अधिकारीका अनुसार ब्यवहार बिग्रेपछि अधिकारीकाे दशा सुरू भएकाे टिप्पणी गर्छन् ।
परिसरले चारै जना बिरुद्ध किर्ते मुद्दामा अदालतबाट म्याद लिएर अनुसन्धान थालेको एसएसपी सिंहले बताए ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit