
गृहमन्त्री रामबहादुर थापाले पछिल्लो समय सुरक्षा चुनौती बढेको बताउँदै त्यसलाई सामना गर्ने गरी सुरक्षा योजना बनाउन नेपाल प्रहरीलाई निर्देशन दिएका छन् ।
प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षकबाट नायव महानिरीक्षकमा बढुवा भएका अधिकृतहरुलाई आज गृह मन्त्रालयमा बधाई तथा शुभकामना दिँदै उनले यस्तो निर्देशन दिएका हुन् ।
‘तपाईंहरुलाई कुनै कठिनाइ आइपरे गृहमन्त्रालय तपाईंहरुको साथ हुनेछ,’ उनले भने । उनले वैशाखमा हुने निर्वाचनको तयारीमा जुट्न पनि निर्देशन दिए ।
‘तपाईंहरूको क्षमतालाई विश्वास गर्दै सरकारले बढुवा गरेको छ, त्यो विश्वासलाई कायम राख्दै आफ्नो जिम्मेवारी पूरा गर्नुहोस्,’ उनले भने, ‘तपाईंहरूको काँधमा एकातर्फ निर्वाचनको लागि आवश्यक तयारी गर्ने र अर्कोतर्फ सम्भावित आन्दोलन नियन्त्रण गर्ने दायित्व आइलागेको छ । लोकतन्त्रमा विरोध, प्रदर्शन गर्न पाइन्छ तर शान्ति, सुरक्षा र सुव्यवस्थामा असर पार्ने गरी प्रदर्शन गर्न पाइँदैन ।’
कार्यक्रममा गृहसचिव महेश्वर न्यौपाने, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री पनि सहभागी थिए ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit