
कपिलवस्तुको वाणगंगा नगरपालिकामा सोमबार समुदायमा कोरोना संक्रमणबारे बुझ्न शिक्षक परिचालन कार्यक्रम चल्दै थियो । संक्रमणको अवस्था बुझेर विद्यालय सञ्चालनको निर्णय गर्न नगरपालिकाले शिक्षक परिचालन गर्न थालेको हो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक (एसपी) दानबहादुर कार्की पनि अतिथिका रुपमा सहभागी थिए । जब उनको बोल्ने पालो तब उनले सामाजिक अगुवाहरुलाई नै व्यंग्य गर्न थाले ।
कोरोना संक्रमणको जोखिम भए पनि समाजका विद्वान् र अगुवा हुँ भन्नेहरुले नै स्वास्थ्य मापदण्डको उल्लंघन गरेको उनको भनाइ थियो । ‘कोरोनाको त्रास र महामारी छ, मास्क लगाउनु पर्छ भन्ने थाहा हुँदा हुँदै पनि समाजका नेतृत्व गर्ने ब्यक्तिले मास्क नलगाई लखरलखर हिँड्ने बानी छ,’ एसपी कार्कीले भने, ‘हामी पुलिस त डण्ठे न हौँ । हामीलाई के थाहा छ र हैन ?’
सामाजिक अगुवाले नै प्रहरीले भनेको नमान्ने गरेको उनले बताए । ‘विद्वानहरुले हामीलाई कहिले भन्नुहोला र हामीले पनि सिकौँला भन्छौँ । विद्वानहरुले हामीलाई कहिल्यै पनि सिकाउनु हुन्न,’ उनले व्यंग्य गर्दै भने ।
अन्य देशमा सरकारले भनेको जनताले मान्ने बताउँदै एसपी कार्कीले नेपालीहरुले भने उल्टो गर्ने जनाए । यो नै संक्रमण नियन्त्रण नहुनुको प्रमुख कारण रहेको उनको भनाइ छ ।
‘प्रहरीलाई देखेपछि मास्क र हेल्मेट लगाइन्छ । डिस्टान्सिङ गरौँ है भन्छौँ । चप्कीचप्की हिँड्नु पर्छ । कोरोनाको महामारी भएको दुई वर्ष भयो अझै पनि मास्क लगाउ भनेर प्रहरीले भन्नुपर्दछ,’ उनले भने ।
विद्यालय सञ्चालन हुने अवस्था आए हरेक विद्यालयको गेटमा हात धुन ठाउँ र साबुन राख्ने, विद्यार्थीले अनिवार्य रुपमा मास्क लगाउने, पढाउँदा, विद्यालय प्रवेश गर्दा, निस्कँदा, वसमा बस्दा सामाजिक दूरी कायम गर्ने हो भने सिकाइ केन्द्रको रुपमा विद्यालय सञ्चालन गर्दा ठीकै हुने र यी पालना गर्न नसक्ने हो भने विद्यालय खोल्न नहुने उनले धारण राखे ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit