Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

सुन्दर हरिजन मृत्यु प्रकरणः समाचार ‘भाइरल’ हुने जोखना हेर्दै गृह मन्त्रालय

शनिबार गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै रोल्पा कारगारमा बन्दी रहेका सुन्दर हरिजनको मृत्यु प्रकरणबारे छानबिन समिति बनाइएको बतायो ।

 

मन्त्रालयको विज्ञप्तिमा यो घटनाबारे स्थलगत अध्ययन अनुसन्धान गरी १० दिनभित्र कारागार व्यवस्थापन विभागमा प्रतिवेदन पेश गर्न विभागका निर्देशक झरेन्द्र प्रसाद चापागाईँको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति बनाएको उल्लेख छ ।

 

त्यस्तै, भविष्यमा पनि यस्ता घटना हुन नदिन सुधारका उपाय अवलम्बन गरिने  पनि उक्त विज्ञप्तिमा भनिएको छ। 

 


यद्यपि यो नयाँ समाचार भने थिएन । एक साताअघि नै नयाँ पत्रिका दैनिकमा सुवास भट्टले ‘खेताला कैदी’को जेलमै मृत्यु, वास्तविक कैदी विदेशमा शीर्षकमा सुन्दर हरिजनको मृत्यु प्रकरणमा समिति बनेको र त्यसको प्रतिवेदन बुझाउन १० दिनको समय दिइएको समाचार लेखेका थिए । समाचारमा प्रहरी, हरिजनका परिवार र कारागार व्यवस्थापन विभागका महानिर्देशक वासुदेव घिमिरेसँगको कुराकानीसमेत समावेश छ । 

 


त्यसको पाँच दिनपछि कान्तिपुर दैनिकमा तुफान न्यौपानेले यस विषयमा थप खोजी रिपोर्टिङ गर्दै अपराधीको सट्टा जेलमा राखिएका दलित किशोरको ज्यान गयो शीर्षकमा समाचार लेखे । उनले पनि यो घटनाबारे छानबिनको लागि समिति बनिसकेको उल्लेख गरेका छन् ।

 

 

यी समाचारहरु सार्वजनिक भए पछि सामाजिक सञ्जालमा यसबारे सत्यतथ्य छानबिनको माग उठ्यो । धेरैले यस विषयमा आवश्यक कदम नचालेको भन्दै प्रहरी प्रशासन तथा गृह मन्त्रालयप्रति आक्रोश व्यक्त गरे । 

 


सामाजिक सञ्जालमा आएको प्रतिक्रियापछि भने गृह मन्त्रालयले बल्ल आफ्नो सक्रियता देखायो र एक साता पहिला नै गठन भइसकेको समिति गठन भयो भनेर तत्तातो विज्ञप्ति जारी गर्‍यो । जबकी अबको केही दिनमा नै उक्त समितिले आफ्नो प्रतिवेदन कारागार व्यवस्थापन विभागमा बुझाउनुपर्ने हुन्छ । 

 


गृह मन्त्रालयको यस किसिमको गतिविधिबाट आम मानिसलाई सूचना दिने मनसायले भन्दा पनि भाइरल हुने जोखाना हेर्दाहेर्दै विज्ञप्ति सार्वजनिक गर्न ढिलाइ भएको बुझ्न सकिन्छ ।

 


के थियो त घटना ? 
गत जेठ ४ गते रोल्पा कारगारमा बन्दी रहेका एक कैदीले आत्महत्या गरेका थिए। सुरुमा आत्महत्या गर्ने कैदी विजयविक्रम शाह भनी प्रहरीले उनको परिवारलाई जानकारी गराउँदा उनी जेलबाट छुटेर विदेश गइसकेको खुलेको थियो।

 

त्यसपछि जेलमा आत्महत्या गर्ने व्यक्ति सुन्दर हरिजन रहेको खुलेको थियो। 

 


जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार आफ्नै गलबन्दीको पासो लगाई झुन्डिएको अवस्थामा हरिजनको शव भेटिएको हो । कारागारमा कैदीको संख्या गन्दा नपुगेको र शौचालयको ढोका लामो समयसम्म बन्द रहेको जानकारी पाएपछि ढोका फुटाएर हेर्दा उनी मृत अवस्थामा भेटिएका थिए ।

 


आपराधिक लाभ मुद्दामा जेल परेका सुर्खेत बराहताल गाउँपालिका– १ घोडाआँखेका २७ वर्षीय शाह दुई वर्षअघि नै जेलमुक्त भइसकेका थिए भने उनको कैद भुक्तानी भने हरिजनले गर्दै आएका थिए । 

 


शाह र हरिजन एकैदिन फरक फरक मुद्दामा पक्राउ परेको र हरिजनको कैद सजाय कम भएकाले शाहले हरिजनको सट्टामा बसेर दुई वर्षअघि नै जेलमुक्त भएका थिए भने हरिजन उनको नाममा जेलमा रहँदै आएका थिए ।

 

प्रहरी तथा प्रशासनकै मिलोमतोमा हरिजनलाई शाहको स्थानमा कैद भुक्तान गर्न राखिएको आशंका छ । यद्यपि यस विषयमा छानबिनको लागि बनेको समितिले केही दिनमा यसबारे प्रतिवेदन बुझाउनेछ ।  

प्रतिक्रिया

सम्बन्धित समाचार सबै