Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

कोभिड वारियर कोपिलाको किन कायरतापूर्ण अवसान ?

‘हातमा कोरिएका भाग्य रेखा नि क्या गजबका छन्, आफ्नै मुठीभित्र त छ तर आफ्नै काबुमा छैनन् । अक्सर हासिराख्ने मान्छे नै मरिरहँदा रछन्,’ यो स्टाटस हो सैनिक जवान कोपिला राजवंशीको ।

 

एक साताअघि फेसबुकमा यो स्टाटस राखेकी राजवंशी आज हामीसामु छैनन् । हसिलो स्वभाव र साहसी कोपिला स्टाटसमा भनेझैं अचानक संसारबाट बिदा भइन् । 

 

गत बुधबार आफू कार्यरत कपिलवस्तु बुद्धभूमि नगरपालिका गोरुसिङ्गेस्थित शमशेर दल गणमा आफैलाई गोली हानेर घाइते भएकी कोपिलालाई अस्पतालले बिहीबार मृत घोषणा गरेको थियो ।

 

यो घटना र कोपिलाको विगतको छवि भने ठ्याक्कै उल्टो छ । गणमा कार्यरत उनलाई नजिकबाट चिन्नेहरु भने कोपिला निडर र हिम्मतवाली रहेको बताउँछन् । उनी सितिमिती कुनै पनि जिम्मेवारीलाई नाइँ भन्दिनथिइन् । जुनसुकै काममा पनि अग्रसर हुन्थिन् । 

 

बलियो आत्मविश्वास भएकी कोपिलालाई केले गाल्यो ? आखिर के त्यस्तो विपत्ति आइलागेको थियो उनलाई, जसका कारण आफैले बोकेको राइफल आफैमाथि प्रहार गरिन् ?

 

यसरी भएको थियो घटना
 

कपिलवस्तुको बुद्धभूमि नगरपालिका गोरुसिङ्गेस्थित नेपाली सेनाको शमसेर दल गणमा बुधबार साँझ गोली चल्यो । एक महिला सिपाहीले डिउटीमा आफैलाई गोली प्रहार गरेकी थिइन्, जसको उपचारको क्रममा मृत्यु भयो । उनी थिइन्, कोपिला राजवंशी । 

 

गणको सेन्ट्रीमा डिउटीमा खटिएकी सिपाही कोपिला राजवंशीले आफुले बोकेको एम १६ राइफलबाट पेटमा दुई राउण्ड गोली प्रहार गरेकी थिइन् । उनलाई उपचारका लागि रुपन्देही प्रादेशिक अस्पतालमा लगिएको थियो । उपचारमा संलग्न चिकित्सकहरुले उनलाई मृत घोषणा गरेका थिए । 

 

गणको १३ नम्बर पोस्टमा ड्युटीमा रहेकी कोपिलाको साँझ ६ बजे ड्युटी सकिँदै थियो । दिउँसो २ बजे सुरु भएको ड्युटी उनले सवा ६ मा अर्को सिपाहीलाई बुझाउनुपथ्र्यो । त्यसअघि नै उनले आफूलाई गोली प्रहार गरेकी थिइन् ।

 

४ वर्षअघि सेनामा प्रवेश 
 

२४ वर्षीया कोपिल झापा गौरादहकी हुन् । ४ वर्षअघि १५ जेठ २०७४ मा उनी नेपाली सेनामा प्रवेश गरेकी थिइन् । 

 

साहसी स्वभावकी कोपिला गणमा निडरताका कारण परिचित थिइन् । उनी कोरोनाकालमा पनि सेनाको तर्फबाट खुबै खटिएकी थिइन् । अन्य सहकर्मी कोरोनाको त्रासमा हुँदा उनी भने निर्धक्क पूर्वक आफ्नो जिम्मेवारी सम्हाल्थिन् । अग्रपंक्तिमा खटिन्थिइन् । त्यो योगदानका कारण उनका साथीहरु कोपिलालाई ‘कोभिड वारियर’ समेत भन्दथे ।

 

त्यति मात्र नभई उनले झापामा आफ्नै बलबुतामा घर बनाउन सुरु गरेकी थिइन् । पिलर ठड्याइएको र चाँडै घरको स्वरुप दिने परिवारको योजना थियो, जसलाई साकार कोपिलाले गर्दै थिइन् । 

 

किन भयो घटना ?

 

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी जेशी शाहले सेनासँगको समन्वयमा घटनाबारे अनुसन्धान भइरहेको पर्दाफासलाई बताए । कोपिलाले आफैंलाई गोली हान्नुको कारणबारे अझै खुलिनसकेको उनको भनाइ छ । 

 

तर, कोपिलाका नजिकका व्यक्तिहरुका अनुसार उनलाई आर्थिक समस्या थियो । आफूले जिम्मेवारीमा अरुका लागि लिइएको ऋणले गर्दा उनी केही समयदेखि तनावमा थिइन्, जसलाई झेल्न नसक्दा उनले मृत्युको बाटो रोजेको हुनसक्ने गणका उनका साथीहरुको भनाइ छ । 

 

‘आत्महत्या रोक्न प्रयास गरिरहेका छौं’
 

गत असोजमा महोत्तरीको जलेश्वरस्थित श्री रणभीम गण प्रकौलीमा कार्यरत सैनिक जवानले ड्यूटीमै रहेको बेला आफैंलाई गोली हानेर आत्महत्या गरे । उनी थिए, रामेछापको लिखु गाउँपालिका ५ घर भएका सेना जवान २३ वर्षीय अमिर तामाङ ।

 

बिहान ३ बजेदेखि ६ बजेको बीचमा ड्यूटीमै रहेका बेला आफैंले बोकेको ५.५ मिनी इन्सास हतियारबाट आफ्नै कन्चटमा गोली हानेका थिए । सेनामा गत वर्ष पनि यस्तै प्रकृतिको घटनामा ५ जनाले ज्यान गुमाएका छन् । 

 

यो वर्ष कोपिलाको घटना पहिलो भएको सैनिक प्रवक्ता सहायक रथी नारायण सिल्वालले पर्दाफासलाई जानकारी दिए । आत्महत्या अन्यत्र पनि समस्या भइरहेको र सेनामा पनि चिन्ताको विषय बनेको उनले बताए । 

 

त्यसैले सेनाले सम्भव भएसम्मका उपाय तथा प्रक्रिया लगाएर आत्महत्या न्यूनीकरणका लागि प्रयास गरिरहेको उनको भनाइ छ । ‘परिवारबाट छुट्टिएर बस्नुपर्दा मानसिकलगायतका समस्या आउन सक्छ । त्यसकारण त्यस्तो समस्या नहोस् भन्नका लागि सिस्टममै शारीरिकसँग मानसिक परीक्षणको पनि व्यवस्था मिलाएका छौं,’ उनले भने । 

 

साथै, सेनाका अस्पतालहरुमा पनि मानसिक समस्यासम्बन्धी उपचारका लागि वार्डको व्यवस्था र मानिसक रोग विशेषज्ञ तथा मनो परामर्शदाताहरुलाई नियुक्त गरिएको प्रवक्ता सिल्वालले जानकारी दिए । ‘यस्तो उपचारका लागि कतिलाई ट्रेनिङमा पनि खटाइएको छ,’ उनले भने । 

 

यस्तै, एक्लोपनको मनिटर गर्न बिहानको बेलुकाको सामूहिक सामेली तथा त्यस्तो समस्या देखिए अन्य साथीबाट तत्काल जानकारी लिने गरिएको पनि उनले बताए । ‘सम्भव भएसम्मको उपाय अपनाएर आत्महत्या रोक्न प्रयास गरिरहेका छौं,’ उनले भने । 
 

प्रतिक्रिया

1
  • मुक्तिनाथ रौनियार

    ब‌ैशाख १६, २०७९

    आत्महत्या गर्ने व्यक्ति ले एउटा गोलि हान्ला तर के अर्को हान्न सम्भव होला?? राइफलले पेटमा आफैले आफैंलाई गोलि हान्न सम्भव हुन्छ त?

प्रतिकृया थप्नुहोस्
  • मुक्तिनाथ रौनियार

    ब‌ैशाख १६, २०७९

    आत्महत्या गर्ने व्यक्ति ले एउटा गोलि हान्ला तर के अर्को हान्न सम्भव होला?? राइफलले पेटमा आफैले आफैंलाई गोलि हान्न सम्भव हुन्छ त?

प्रतिकृया थप्नुहोस्
सम्बन्धित समाचार सबै