
ललितपुरस्थित औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा भएको विष्फोटमा परी घाइते भएकामध्ये थप एक मजदुरको मृत्यु भएको छ ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरका अनुसार भारत घर भइ सोही प्लान्टमा काम गर्ने वर्ष २५ का राजकुमार महतोको बिएण्डबी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । योसँगै उक्त विष्फोटमा परी दुई जनाको मृत्यु भएको छ ।
यसअघि विष्फोटमा परेर भारतकै ४५ वर्षीय वृजमोहन महत्तोको घटनास्थलमै मृत्यु भएको थियो । अन्य घाइते भएका पाँच जना पाटन अस्पतालमा उपचार पछि घर फर्किएका उनले बताए ।
बिहीबार बिहान १० बजे अक्सिजन भर्ने क्रममा एक्कासी विष्फोट भएको बताइएको छ ।
घटनाको विषयमा थप अनुसन्धानको लागि ६ सदस्यीय छानबिन समिति गठन गरिएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूको निर्देशनमा उद्योग मन्त्रालयले छानबिन समिति गठन गरेको हो ।
मन्त्रालयका सहसचिव चन्द्रकला पौडेलको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गर्दै सात दिनको समय दिइएको मन्त्रालयले बताएको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit