
नेपाली कांग्रेसका संस्थापक नेता गणेशमान सिंहकोे आज २५औँ स्मृति दिवस । उनको ८२ वर्षको उमेरमा २०५४ साल असोज २ गते निधन भएको थियो । तत्कालीन सरकारले उनको निधनमा तीन दिनसम्म राष्ट्रिय शोक मनाउने घोषणा गरेको थियो ।
यसअघि तत्कालीन श्री ५ को सरकारले कुनै पनि सरकारी पदमा नभएको र राजनीतिज्ञको सम्मानमा शोक मनाउने घोषणा गरेको थिएन । यो घोषणा नै पहिलो थियो । जनआन्दोलनपछि राजा वीरेन्द्रको प्रधानमन्त्री बन्ने आग्रहलाई अस्वीकार गरी आफ्ना मित्र कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्री बनाएपछि उनलाई लौहपुरुषको उपाधि दिइएको थियो ।
जनआन्दोलनपछिको अन्तरिम सरकारको (२०४७ साल वैशाख) प्रधामन्त्री पद लिन राजा वीरेन्द्रले आग्रह गर्दा सिंहले अस्वीकार गरेका हुन् । सिंहको जन्म वि.सं. १९७२ साल कात्तिक २४ गते काठमाडौँको यट्खामा भएको थियो ।
नेपाली कांग्रेसका संस्थापक नेता गणेशमान सिंहकोेलाई लौह पुरुष र त्यागी नेताका रुपमा चिनिन्छ । राणा शासनको अन्त्यका लागि ज्यानको बाजी लगाएका सिंह जीवन पर्यन्त प्रजातन्त्र र मानवअधिकारका पक्षमा लडे । उनले कही कसैसंग सम्झौता गरेनन् ।
आजीवन कारावास सजाय भोगिरहेका सिंहले राणाकालमा ६०१ कोर्रा लगाउँदा समेत माफी मागेनन् । बरु जेल तोडेर भागे । प्रजातन्त्रको लडाइँमा सिंगो जीवन अर्पण गरेका सिंहले २०४६ सालको अन्दोलनको नेतृत्व गरे । आन्दोलन सफल भएपछि प्रधानमन्त्री वन्न राजाले गरेको आग्रह अस्वीकार गरी त्यागको उच्चतम नमुना समेत बने ।
जीवनकालमा एक पटक २०१२ सालमा पार्टी सभापतिका लागि प्रतिस्पर्धा गरे । पराजित भएपछि फेरि कहिल्यै उम्मेदवारी दिएनन् ।
नेपालका बरिष्ठ राजनीतिज्ञ, प्रजातन्त्रका योद्धा तथा २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमान्डर सिंह काठमाडौँको खानदानी परिवारमा जन्मेका गणेशमान सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउन राजनीतिमा होमिएका थिए । उनी तत्कालीन ‘राणा हटाऊ’ आन्दोलनका एक नायक थिए ।
भारतमा अर्का नेता बीपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित हुनासाथ अन्य केही सहयोगीसाथ २००३ सालमा स्थापित नेपाली कांग्रेसलाई आजीवन जुझारू नेतृत्व दिन गणेशमानको उल्लेखनीय भूमिका रहेको छ । २००७ सालको क्रान्तिका एक अगुवाका रूपमा उहाँले वीरगञ्ज मोर्चामा सशस्त्र संघर्ष गरेका थिए ।
संघर्षका हिसाबले बीपी कोइरालाभन्दा बढी समयसम्म देशमा प्रजातन्त्र बहाली र पुनर्बहालीका लागि समर्पित गणेशमान सिंह सैद्धान्तिक हिसाबले बीपीका अनुयायी र सबैभन्दा ठूला समर्थकका रूपमा नेपाली कांग्रेसलाई लोकप्रिय बनाउन सदा क्रियाशील थिए ।
पहिलो जननिर्वाचित सरकारमा वरिष्ठ मन्त्री रहेका गणेशमानले २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि ८ वर्ष निरन्तर काराबास भोगे । त्यसपछि पुनः प्रवासमा राजनीतिक सङ्गठन विस्तार गरी २०३३ सालमा बीपीसँगै राष्ट्रिय मेलमिलापको नारा लिई स्वदेश फर्केर तत्कालीन पञ्चायती व्यवस्था विरुद्ध सक्रिय रहे ।
२०१५ मा सम्पन्न मुलुकको पहिलो संसदीय निर्वाचनमा काठमाण्डौं क्षेत्र नं १ बाट विजयी भएका सिंह त्यसपछि कहिल्यै चुनाव उठेनन् । त्यो चुनावमा नेपाल कम्युनिष्ट पार्टीका महासचिव पुष्पलाललाई झिनो मत अन्तरमा हराएर उनी विजयी भए । त्यही बेलादेखि उनले फेरि कुनै पनि चुनावमा प्रतिस्पर्धा नगर्ने प्रतिज्ञा गरेका थिए ।
त्यो निर्वाचनमा नेपाली कांग्रेसले कुल १०९ मध्ये ७४ सिटका साथ दुई तिहाईको जीत हासिल गरेको थियो । बीपी कोइरालाको नेतृत्वमा गठित सरकारमा गणेशमान सिंह यातायात मन्त्री भए । तिनै ताकाको कुरा हो । नेपाली कांग्रेस भक्तपुरका दर्जन नेता सिंहलाई सगुन सहित बधाई दिन भनेर उनको चाक्सिवारी स्थित निवासमै पुगेका थिए ।
बधाई दिन जाने टोलीका एक सदस्य थिए,, नेपाली कांग्रेसका पुराना नेता तिलक प्रकाश कायस्थ । त्यो दिन सगुन दिन जाँदाको अनुभव नेता कायस्थले न्यूज एजेन्सी नेपाललाई यसरी सुनाए :
‘गणेशमानजी मन्त्री भएपछिको कुरा हो । भक्तपुरसंग ज्यादै नजिकको सम्वन्ध भएको नाताले हामी पन्ध्र सोह्र जना साथीहरु सगुन दिन भनेर उहाँको चाक्सिवारी स्थित घरमै गएका थियौं । त्यही बेला उहाँले भन्नु भएको थियो । ह्या तपाईहरु पनि के को वधाई र सगुनको कुरा गर्नु हुन्छ । मैले जितेको भनेर तपाईहरुले यो सगुन दिन ल्याउनु भएको होला । प्राविधिक रुपमा जितेको भएपनि वास्तवमा म त हारेको व्यक्ति हु । १८ हजार भोट मेरो विरोधमा खसेको छ । मैले १२ हजार मत मात्र पाए । म आफूलाई जितेको भनूँ कि हारेको । प्रक्रियागत रुपमा जिते पनि वास्तविक रुपमा म हारेकै हो । त्यसपछि गणेशमानजीले काठमाडौंवासीलाई नराम्रो संग गाली गर्नुभयो ।
उहाँको भनाई थियो ‘यी दास भैरहेका उपत्यकावासीलाई उद्धार गर्नु पर्छ भनेर मैले ज्यानको वाजी लगाए । कहिल्यै चैनसंग बस्न पाइन । राणा शासन फाल्न ज्यानको बाजी लगाए । राणाहरुले उहिल्यै मार्न खोजेका हुन् । बालबाल बचे । मेरो त्यो त्याग काठमाडौंबासीले चिनेको यही हो । मेरो भोट चाहिँ मलाई १२ हजार आयो । अस्ति मेरो सिन्दुर जात्रा गर्दा लाखौं मानिस । यस्ता पनि जनता हुन्छन् । जसलाई दासताबाट मुक्त गरेर मानिस बनाउन मैले लडेँ, उनीहरुले नै मेरो मूल्याङकन गर्न सकेनन् । हिजो मलाई मत नदिने । अहिले जिते पछि मेरो हाई हाई । लड्दा वाई वाई । यो स्थिति भएकाले मैले जितेको होइन ।’
त्यही बेला गणेशमानजीले भन्नुभएको थियो ‘‘हेर्नुस् म आईन्दा कुनै चुनाव पनि लड्दिनँ र कुनै सरकारी पदमा पनि जान्न ।’’ कायस्थले सम्झिनु भयो ‘‘त्यसै बेला उहाँले प्रण गर्नु भएको थियो ।’’
त्यसपछि गणेशमानजीसंग पटक पटक भेट त भयो तर यसरी खुलेर कुरा गर्ने वातावरण पाइएन । जननिर्वाचित सरकारले राम्रै काम गरिरहेको थियो । राजा महेन्द्रले २०१७ पुष १ गते संसदीय प्रजातन्त्र माथि कु गरे । बीपीसंगै गणेशमानजीलाई ८ वर्ष सुन्दरीजल वन्दीगृहमा राखियो ।
आठ वर्षसम्म उहाँ भारत प्रवासमा रहनुभएन । प्रजातन्त्र बहालीका लागि संघर्ष गर्नुभयो । गणेशमानजीकै नेतृत्वमा २०४६ सालमा भएको जनआन्दोलनले ३० वर्षे पञ्चायती व्यवस्थाको अन्त्य ग¥यो । त्यो बेला अन्तरिम सरकारको प्रधानमन्त्री बन्न राजाबाट भएको आग्रह उहाँले अस्वीकार गरिदिए ।
प्रजातन्त्रका लागि जीवनभर त्याग गरेका नेताले मुखमैमा आएको प्रधानमन्त्री पद अस्वीकार गर्नु चानचुने त्याग थिएन ।
पछि २०४६ सालमा राजाले तपाई नै प्रधानमन्त्री भएर चलाउनु प¥यो भनेर प्रस्ताव गर्दा पनि माननेन् । नेपाली कांग्रेसले त भन्ने नै भए । कम्युनिष्टहरुले पनि भनेका थिए गणेशमानजी अब तपाई नेपाली कांग्रेसको मात्र नेता होइन, नेपालको नेता हो, हामी सबैको नेता हो । तपाईले देशको प्रधानमन्त्री भएर जानु पर्छ ।
गणेशमानजीलाई सर्वमान्य नेता कांग्रेसले भनेको पनि होइन, पहिला सहाना प्रधानले प्रस्ताव गरे । मनमोहन अधिकारीले समर्थन गरे । यसरी उहाँ सर्वमान्य नेता हुनु भएको हो ।
यसरी राजा, कांग्रेस र कम्युनिष्टले समेत तपाई प्रधानमन्त्री भैदिनु प¥यो भन्दा समेत नाई मेरो स्वास्थ्यले साथ दिँदैन भनेर इन्कार गर्नुभयो र किसुनजीलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्नुभयो ।
गणेशमानजीले प्रधानमन्त्री पद छोड्ने निर्णय तत्काल गर्नु भएको होइन, त्यो प्रण उहाँले २०१६ सालमै गरिसक्नु भएको थियो ।
सशस्त्र प्रहरी बलले मुस्ताङको लोमान्थाङ–४ नेचुुङमा बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरेको छ । वातानुकुलित २४ कोठा सहित भवन निर्माणको बुधबार गृहसचिव महेश्वर न्यौपाने र सश...
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit