Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

पहिलो तीन महिनामा रक्षा मन्त्रालयको विकास खर्च साढे २ प्रतिशत मात्रै

रक्षा मन्त्रालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा २ दशमलव ४९ प्रतिशत मात्र पूँजीगत खर्च गरेको छ । मन्त्रालयले सार्वजनिक गरेको प्रथम त्रैमासिक प्रगति समीक्षा अनुसार वार्षिक बजेट ७१ अर्ब १४ करोड २१ लाख मध्ये १ अर्ब ७७ लाख ४० हजार रुपैयाँ मात्र खर्च भएको हो । 

 

उक्त रकम त्रैमासिक वित्तीय लक्ष्यअनुसार भने ११ दशमलव २८ प्रतिशत हो । रक्षा मन्त्रालयका साथै राष्ट्रिय सुरक्षा परिषदको सचिवालय, जंगी अड्डा, सैनिक हवाई महानिर्देशनालाय, वीरेन्द्र अस्पताल, सैनिक कमाण्ड तथा स्टाफ कलेज, राष्ट्रिय सेवा दल, अतिविशिष्ट तथा विशिष्ट व्यक्ति सुरक्षा निर्देशनालय लगायत निकायबाट यो रकम खर्च भएको हो । 

 

यस अवधिमा वार्षिक लक्ष्यअनुसार भौतिक प्रगति भने २५ दशमलव २५ प्रतिशत भएको छ । मन्त्रालयको मुख्य आयोजना काठमाडौं–तराई मधेश द्रुतमार्गमा यस वर्ष ८ अर्ब ८४ करोड रुपैयाँ विनियोजन भएकोमा पहिलो त्रैमासमा ८ करोड २९ लाख खर्च भएको छ । 

 

यस्तै, विभिन्न ५ सडक करिडोरहरुको निर्माणमा ७८ करोड विनियोजन भएकोमा ८ करोड २९ लाख रुपैयाँ खर्च भएको छ । रक्षा मन्त्रालयले सैनिक सागम्री उत्पादनमा १८ करोड ९१ लाख विनियोजन गरेकोमा १३ लाख रुपैयाँ खर्च गरेको छ । 

 

यस्तै, राष्ट्रिय निकुञ्ज सुरक्षामा ३ करोड ४५ लाख र राष्ट्रपति चुरे–तराई मधेश संरक्षणमा ३ करोड ६४ लाख विनियोजन भएकोमा पहिलो तीन महिनामा खर्च शून्य छ । 

 

यसबीचमा मन्त्रालयले मुलुकका विभिन्न ८ मध्ये ७ स्थानमा होल्डिङ सेन्टर निर्माण द्रुत गतिमा भइरहेको जानकारी दिएको छ । कञ्चनपुरको गड्डाचौधीमा निर्माणाधीन होल्डिङ सेन्टरको ६० प्रतिशत सकिएको छ । 

 

यस्तै, कैलालीको गौरीफन्टामा ५२ प्रतिशत, कपिलवस्तुको कृष्णनगरमा ६५ प्रतिशत, पर्साको वीरगन्जमा ५५, बाँकेको नेपालगञ्जमा २८ प्रतिशत र झापाको काँकडभिट्टामा ५५ प्रतिशत, मोरङको रानीमा १९ प्रतिशत काम सकिएको मन्त्रालयले जनाएको छ । यस्तै, रुपन्देहीको बेलहियामा भने हालसम्म जग्गा प्राप्ति नहुँदा काम सुरु नभएको मन्त्रालयले जनाएको छ । 

 

चालु आवको पहिलो त्रैमाससम्म मन्त्रालयको बेरुजु ३ अर्ब ७६ करोड ६४ लाख, बेरुजु फछ्र्योट २ करोड ५४ लाख रुपैयाँ छ । यसमा मन्त्रालय तर्फ नेपाली सेनाको जहाज खरिद प्रक्रियाको १९ करोड ७६ लाख रहेको र नेपाली सेनातर्फ बेरुजु ३ अर्ब ५४ करोड ३३ लाख रहेको मन्त्रालयले जनाएको छ ।

 

मन्त्रालयका अनुसार द्रुतमार्गतर्फ बजेट कम भएको, स्थानीयको अवरोधले ललितपुरको खोकनाको विवाद र आयोजना निर्माणको क्रममा आवश्यक पर्ने थप जग्गा प्राप्ति तथा रुख कटानको कार्य अघि बढ्न नसकेको अवस्था छ । 

 

यस्तै, राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय बहुवर्षीय आयोजनाको रुपमा स्वीकृत नभएको, भौतिक संरचना निर्माणमा बजेटको कमी रहेको जनाएको छ । मन्त्रालयले पनौती–पेरुङे डाँडामा प्रतिरक्षा विश्वविद्यालय बनाउँदै छ । त्यहाँसम्म पुग्ने लिंकरोड बनाउन ३ अर्ब ६२ करोड २४ लाख रुपैयाँ विनियोजन हुनुपर्ने मन्त्रालयको भनाइ छ । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै