
प्रधानमन्त्री शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसिसी) नेपालको हितमा रहेको आफ्नो धारणा दोहोराएका छन् ।
उनले आज नुवाकोटको किस्पाङ गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्दै हालै प्रतिनिधिसभाबाट पारित भएको एमसिसी परियोजनाका बारेमा गरिएका नकारात्मक टिप्पणीहरु भ्रममात्र भएको जनाए ।
परियोजनाको विरोध गर्ने एमाले नेता भीम रावलले आफू मन्त्रिपरिषदमा रहँदा पास गरेको तर अहिले आएर विरोध मात्र गरेको उल्लेख गरे । ‘आफैँ मन्त्री भएका बेला मन्त्रिपरिषदबाट पास गरेका भीम रावलले त्यसबेला किन आलोचना गर्नुभएन ? त्यतिबेला राजीनामा नदिएर के हेरेर बसेको ?,’ देउवाले आक्रोशित हुँदै भने ।
‘आफू पार्टीको नेता र मन्त्री हुँदा आफँैले मन्त्रिपरिषदबाट पारित गर्ने अनि अहिले किन विरोध गर्दैछन् ? विरोध गर्ने भए त्यसैबला मन्त्रीबाट राजीनामा दिएर बाहिर आउनुपर्दैनथ्यो ?,’ उनले भने । प्रधानमन्त्री देउवाले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा ल्याएको प्रस्तावलाई आफूले पारित गरेको पनि स्पष्ट गरे ।
‘एमसीसीको सबैभन्दा बढी खिलाफमा भीम रावल हुनुहुन्छ । त्यसबेला भीम रावलको दिमाग खुस्किएको थियो ? अहिले बोल्न लाज छैन ? मैले एमसीसी पास गर्दा भीमबहादुर रावललाई किन टाउको दुख्ने ?’ देउवाले भने ।
जवाफमा एमाले नेता रावलले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति झूठो र उद्दण्डतापूर्ण भएको जनाएका छन् । ‘म केपी ओलीजी पहिलो पटक प्रधानमन्त्री भएको बेला उपप्रधानमन्त्री र रक्षामन्त्री थिएँ । ओलीले एमसीसीसँगको सम्झौता संसदमा ल्याएको बेला होइन । अतः मेरो मन्त्रिपरिषदमा सहमति रहेको भन्ने कुरै रहेन’ उनले ट्वीट गरेका छन् ।
‘देशको प्रधानमन्त्रीले प्रयोग गरेका तुच्छ शब्दहरु लोकतन्त्रमा त्याज्य भएकोतर्फ ध्यान दिए तपाईंको पदीय मर्यादा कायम रहला,’ उनले लेखेका छन् ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit