
संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापनार्थ युनीफिल मिशन लेवनानमा तैनाथ बर्द बहादुर गण (शान्ति सेना) ६२ औं डफ्फा उक्त मिशनमा तैनाथ अन्य १० राष्ट्रका गणहरु मध्ये सर्वोत्कृष्ट हुन सफल भएको छ ।
बर्द बहादुर गण (शान्ति सेना) ६२ औं डफ्फामा कार्यरत नेपाली शान्ति सैनिकहरुले आफ्नो जिम्मेवारी ईलाकामा गरेका उत्कृष्ट योगदानको कदर स्वरुप युुनीफिल मिशन प्रमुख तथा फोर्स कमाण्डर मेजर जनरल स्टेफानो डेल कर्नलले २२ पुसमा फोर्स हेडक्वार्टर, नाकुरामा आयोजित एक विशेष कार्यक्रमकाबीच उक्त गणका गणपतिलाई उत्कृष्टताको प्रतिक तथा प्रशंसा–पत्र प्रदान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका अनुसार गणले मिशन ईलाकामा तैनाथ भएदेखि नै कोभिड–१९ को चरम मार खेपिरहेको आफ्नो जिम्मेवारी क्षेत्रको आठ वटै पालिकाहरुमा कोभिड किट वितरण तथा विभिन्न समयमा नगरपालिकाहरुमा वृक्षारोपण, ऐतिहासिक किल्लाको संरक्षण र सम्वद्र्धन, गुणस्तरीय डेण्टल सेवा, विद्यालयहरुमा स्टेशनरी वितरण, महिला स्वास्थ्य सम्बन्धि जनचेतना कार्यक्रम, सार्वजनिक पार्क तथा बगैचाहरुको मरामत सम्भार जस्ता प्रभावकारी जनहितका कार्यक्रमहरु संचालन गरेको थियो । यस्तै स्थानीय व्लिदा नगरपालिकामा नेपाली सेनाको हालसम्मकै ठूलो लगानीमा ‘कृषि पोखरी तथा सार्वजनिक बगैचा’ निर्माण सम्पन्न गरेको थियो ।
गणले लेवनान र ईजरायलको सीमा क्षेत्रमा फैलिएको जैतुन खेतीको बाली भित्रयाउँदाको दौरान विगतको अनुभवबाट पाठ सिक्दै संभावित जोखिमलाई कम गर्न स्थानीय निकाय, लेवनानी शसस्त्र बल तथा अन्य सरोकारवाला निकायहरुसँग अर्थपुर्ण समन्वय र सहकार्य गरी मिशनको इतिहासमै पहिलो पटक जैतुन बाली भित्राउने कार्यलाई तनावरहित वातावरणमा सुरक्षित र शान्तिपूर्ण रुपमा सम्पन्न गरेको निर्देशनालयले जनाएको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit