Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

तीन वर्षभित्र फोहोर शून्यमा झार्ने खुकुरी रमको प्रतिबद्धता 

नेपालको स्थापित ब्राण्ड खुकुरी रमले अबको तीन वर्षभित्र आफ्नो उत्पादनबाट निस्किने फोहोर शून्यमा झार्ने र पुनः प्रयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

 

विश्व वातावरण दिवसको अवसरमा वातावरण संरक्षण तथा दिगोपना विकासका लागि खुकुरी रमले यस्तो प्रतिबद्धता व्यक्त गरेको हो । खुकुरी रमको उत्पादक दि नेपाल डिस्टिलरिज प्रालिले अहिले पनि आफ्नो उत्पादनबाट निस्किने ९८ प्रतिशत फोहोर व्यवस्थापन गरिरहेको बताएको छ । 

 


त्यस्तै कम्पनीले सन् २०३२ सम्ममा सत्प्रतिशत दिगो प्याकेजिङलाई कार्यान्वयनमा ल्याउने बताएको छ । अहिले पनि सकेसम्म वातावरणमा हुनसक्ने नकारात्मक प्रभावलाई कम गर्न निरन्तर हाम्रा सप्लायर्स र विज्ञहरुसँग काम गरिरहेको कम्पनीले बताएको छ । 

 


कम्पनीले आफ्नो उत्पादनका बोतलहरु पनि पुनः प्रयोग गरिने बताएको छ । त्यसको लागि अहिले कम्पनीको उत्पादनमा प्रयोग हुने बोतलहरु संकलन गर्ने प्रणालीको विकास भइरहेको कम्पनीले बताएको छ । अत्याधुनिक प्रविधि प्रयोग गरेर बोतलहरु सफा गरी पुनः प्रयोग गर्ने अभ्यास  बसाल्ने काममा समेत आफूहरु अग्रसर रहेको कम्पनीले बताएको छ । हाल नेपालमा यो अभ्यास धेरैजसो बियर उद्योगले गरिरहेका छन् । 

 


कम्पनीले नवीकरणीय ऊर्जामा पनि काम गरिरहेको बताएको छ । कम्पनीका अनुसार आगामी तीन वर्षमा नवीकरणीय ऊर्जाको अवधारणालाई कार्यान्वयनको तहमा पुर्‍याइनेछ । त्यस्तै अहिले जारी रहेको हिमाल सफाइको अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिने कम्पनीको प्रतिबद्धता छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै