
ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले अध्यादेश ल्याएर भएपनि निजी क्षेत्रलाई विद्युत व्यापारको इजाजतपत्र दिइने बताएकी छिन् ।
सोमबार काठमाडौंमा जारी हिमालयन हाइड्रो एक्स्पोमा बोल्दै मन्त्री भुसालले निजी क्षेत्रलाई विद्युत व्यापारको इजाजतपत्र अध्यादेश ल्याएर भए पनि दिलाउन सरकार प्रतिवद्ध रहेको बताएकी हुन्।
मन्त्रालयले इजाजतपत्र दिनका लागि कार्यविधि र नियमावली तयार पारे पनि प्रक्रियागत समस्या रहेकाले अहिले अड्किएको बताइन्।
अहिले संसद सुचारु हुन नसकेको अवस्थामा अध्यादेशकै विधिमार्फत् भए पनि निजी क्षेत्रलाई विद्युत व्यापारको इजाजतपत्र दिइने उनले बताइन् । उनले भनिन्, ‘म मेरो बचनमा पूरै प्रतिवद्ध छु । आवश्यक पर्यो भने अध्यादेशकै विधिद्वारा भए पनि विद्युत व्यापारको लाइसेन्स निजी क्षेत्रलाई दिने कुरामा सरकार, मेरो मन्त्रालय, म पुरै हामी सकारात्मक र प्रतिवद्ध छु ।’
मन्त्री भुसालले घरायसी प्रयोजनमा विद्युतीय उपकरणको प्रयोग गर्नुपर्नेमा जोड दिइन् । पेट्रोलियम पद्धार्थको विकल्पका रुपमा जलविद्युतलाई लिइनुपर्ने उनको भनाइ छ ।
उनले पेट्रोलियम पदार्थको भाउ बढिरहेको समयमा नेपालसँग त्यसको विकल्प पनि भएको उल्लेख गर्दै नेपालीहरुले आफ्नो भान्सामा विद्युतीय उपकरणलाई प्राथमिकता दिनुपर्ने बताइन् ।
उनले आगामी आर्थिक वर्षको बजेटमा विद्युतीय उपकरणको प्रयोगलाई बढाउने दिनेगरी नीतिगत रुपमा सम्बोधन गर्ने र बजेटको व्यवस्था गर्ने बताइन् ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit